पाँचथर । फिदिम नगरपालिका भित्रका ५–१२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरिएको छ ।
बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो । नेपाल सरकारको विद्यालय भर्ना अभियान दोस्रो चरण अन्तर्गत नगरभित्र रहेका ५–१२ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसकिएकाले उक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।
प्रमुख अतिथिको आसनबाट कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णु प्रसाद सापकोटाले बालबालिकालाई विद्यालय भर्ना गरिए पनि टिकाइराख्न चुनौति रहेको उल्लेख गरे । यो बिषय निकै संवेदनशील बिषय भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने सापकोटाको भनाई थियो ।
फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले नगरका सबै विद्यालयलाई गुणस्तरी शिक्षा प्रदान गर्न सुझाब दिंदै त्यसका लागि नगरपालिकाले आवस्यक सहयोग गर्न कन्जुस्याँइ नगर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानि गर्दै आए पनि त्यसले चित्तबुझ्दो उपलब्धि भने दिन नसकेको उल्लेख गरे ।
शिक्षा क्षेत्रको खस्कदो गुणस्तरलाई उकास्न सरोकारवाला गम्भिर भएर लाग्नुपर्ने उनको भनाई थियो । जिल्ला शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख युगमणी सबेहाङले विविध कारणले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयमा नियमित गराउन भर्ना अभियानको मुख्य उदेस्य भएकाले त्यो उदेस्य प्राप्तीका लागि सबैजना लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेस पाँचथरका सचिव रुपनारायण जबेगु, संघीय लिम्बुवान मञ्चका सदस्य डिआर हाङसरुम्बा, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, सुम्निमा आधारभूत विद्यालयका शिक्षक इन्द्रकला राई र पत्रकार जीतेन्द्र भण्डारीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा भर्ना अभियानलाई सफल बनाउँन सहयोग गर्ने नगरपालिकाको १४ वटै वडाका वडा अध्यक्ष र सामुदायिक अध्ययन केन्द्रहरुलाई सम्मान–पत्र वितरण गरिएको थियो ।