सरकारले बीस वर्ष सञ्चालन भएका सार्वजनिक सवारी साधनलाई सडकमा गुड्न नदिने नीति ल्यायो । केही दिन यसको समर्थन र विरोध पनि भयो तर सरकारले यसलाई कडाइका साथ लागू गर्न सकेको छैन । सरकारले सरोकारवाला निकायहरुबीच समन्वय नगरिकन निर्णय गरेको भन्दै कडा आलोचना भएको थियो । गृहमन्त्रालयले सरकार आफ्नो निर्णयमा कुनै पनि हालतमा पछि नहट्नेसमेत बताएको अवस्थामा अहिले उक्त कार्यलाई नियमन गर्न छाडिएको छ । अहिले देशका मुख्य सडक र भित्री सडकहरुमा दिनहुँजस्तो दुर्घटना हुने गरेका छन् ।
त्यसको प्रमुख कारणको रुपमा पुराना सवारी साधन हुन् भन्ने प्रतिवेदन पनि गृहमन्त्रालयले सार्वजनिक गरेको थियो । तर आज पुराना सवारीलाई शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा लगेर सञ्चालन गर्न थालिएको छ । जसको कारण दुर्घटनाको जोखिम मात्र होइन, वातावरणमा समेत गम्भीर असर परेको छ । यसतर्फ सरकारको ध्यानले गम्भीर्यता लिन सकेन । हुन त निर्वाहमुखी र सानो अर्थव्यवस्था भएको विशिष्ट भौगोलिक परिवेशको नेपाललाई के–कस्ता वाहन के–कति संख्यामा आवश्यक पर्छ, त्यसको राम्रो अध्ययनसमेत भएको छैन । अहिले सवारी साधन अनिवार्य आवश्यकताभन्दा पनि बिलासिताको साधनको रुपमा परिभाषित हुन थालेका छन् । अहिले नेपालमा सवारी साधनको उत्पादन हुँदैन । जसका कारण हामीले विदेशबाट नै सवारी साधन ल्याउनुपर्ने बाध्यता छ । जसको कारण नेपालको ठुलो धनराशि विदेश गइरहेको छ । सरकारले यसतर्फ ध्यान दिन पनि जरुरी छ । स्वदेशी पुँजी पलायन हुने मुख्य कारण निजी सवारीको प्रयोग बढ्नु पनि मुख्य कारण हो । सरकारले निजी सवारीको प्रयोगलाई न्युनीकरण गरी सार्वजनिक सवारीको प्रयोगलाई प्रोत्साहित गर्न योजना र नीति ल्याउनु पर्छ । सार्वजनिक सवारीको प्रयोगले दुर्घटना, वातावरण प्रदूषण, स्वदेशी पुँजीको पलायन जस्ता कुराहरुलाई नियन्त्रण गर्छ ।
आज विश्व समुदाय स्वच्छ हावा प्राप्तिका लागि चिन्तनशील छ । अन्तर्राष्ट्रिय क्षेत्रमा इको फ्रेन्ड्ली सवारीसाधनहरु प्रयोगमा आउन थालिसकेका छन् । नेपालमा पनि विद्युतीय सवारीको प्रयोग गर्ने कार्य शुरु भएको छ । तर यसलाई व्यवस्थित गर्न र सबैको पहुँचमा बनाउन सरकारले ध्यान दिनु पर्छ । सडकको अवस्था सुधार गर्ने र निजी सवारी खरिदलाई निरुत्साहित गर्न ध्यान दिनु आवश्यक छ । सरकारको तर्फबाट मात्र होइन, नागरिक स्तरबाट पनि यसका लागि पहल र सङ्कल्प आवश्यक छ । सार्वजनिक सवारी प्रयोग गर्ने बानीको विकास गर्न सबैको साझा सङ्कल्प आवश्यक छ ।