पानवारी । सरस्वती बाल आश्रम धरानले ३० औं वार्षिकोत्सव भव्यताका साथ साताव्यापी विभिन्न कार्यक्रम गरेर मनाउने भएको छ । आश्रमको ३० औं वार्षिक साधारणसभा तथा राष्ट्रिय बाल दिवस–२०७५ को अवसरमा यही बिहीबारदेखि साता व्यापी रुपमा विभिन्न कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रम अन्तर्गत बिहीबार धरानका मिडियाकर्मीसँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
त्यस्तै शुक्रबार बचत प्रेरित उत्प्रेरणा कार्यक्रम, शनिबार नगरस्तरीय बुद्धिचाल प्रतियोगिता, आइतबार बुद्धि खियाउने कार्यक्रम, मंगलबार सफलताको कथा सुनाउने कार्यक्रम सम्पन्न गर्नेछ । जस अन्तर्गत बालबालिकालाई प्रेरणादायी हुने गरी बाल्यकालमा अत्यन्तै दुःख पाएका तर अहिले प्रतिष्ठित व्यक्तित्व बन्न सफल व्यक्तित्वको जीवनी प्रत्यक्ष रुपमा सुनाइने छ । बुधबार आन्तरिक खेलकुद र शुक्रबार साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिने बिहीबार मिगियाकर्मीसँगको भेटघाटको कार्यक्रममा बताइएको छ । आश्रमकी अध्यक्ष नैनकला न्यौपानेका अनुसार आश्रम मुठिदानबाट सञ्चालित रहेकोले सबैको सहयोगले आश्रम सञ्चालन गर्न सम्भव भएको हो ।
बाल आश्रम सञ्चालन गर्न स्थायी आम्दानीको श्रोत नभएको भन्दै आश्रमका महासचिव मनिष खड्गीले साहारा विहिन बालबालिकाहरुलाई एक दिनको भोजन गराई पुण्य कार्यमा सहभागी हुन आग्रह गरेका छन् । उनका अनुसार अहिले आश्रमका बालबालिकालाई एकदिनको खाना खुवाउदा ३ हजार रुपैयाले पुग्ने गरेको बताए । उनले धेरैले खाना खुवाउन भन्दै ३ हजार रुपैया नगद नै दिने प्रचलन समेत रहेको बताए । आश्रमकी अध्यक्ष न्यौपानेका अनुसार आश्रम सञ्चालन खर्च मात्रै वार्षिक रुपमा १५ लाख भन्दा बढी खर्च भइरहेको भन्दै स्थायी आम्दानीको स्रोत नहुँदा धेरै गाह्रो भइरहेको बताइन् ।