रङ्गेली/कृषिप्रधान देशमा किसानले मल कहिले पाउने ? भन्दै सांसद्हरूले प्रदेश सभा बैठकमै प्रदेश सरकारलाई प्रश्न गरेका छन् । बिहीबारको प्रदेश सभा बैठकका क्रममा सांसद् हीराकुमार थापाले किसानले मल कहिले पाउने भन्दै प्रश्न गरे । उनले बाली लगाइसकेपछि आवश्यक पर्ने मल चाहिँ कहिले प्राप्त गर्छन् भन्ने प्रदेश सरकारप्रति आक्रोस पोखे । उनले कालाबजारियाले मल लुकाएर बजारमा मलको कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए । उनले झापामा राजमार्गछेउमै रहेको ७ सय बिगाहा जमिनको लालपुर्जा एक वर्षअगाडि नै बनाएर भूमाफियाले जमिन अतिक्रमण गरेको दाबी गरे । भूमाफियाहरूले सरकारी जमिन कब्जा गर्ने क्रम बढेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद् मोहनकुमार खड्काले ठेकेदारको लापरबाहीका कारण ओखलढुङ्गामा विकास निर्माणका काम वर्षौंदेखि लथालिङ्ग रहेको बताए । ठेकेदारले ठेक्का पारेर काम नगर्नाले काम अपूर्ण भए पनि प्रगति विवरण सम्पन्न भएको भनेर पेश गर्ने गरेको उनको आरोप थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले पेश गरेको सिंचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा पठाइएको छ । त्यसैगरी सामाजिक विकास समितिमा दफावार छलफल भएको सामाजिक विकास संस्थासम्बन्धी विधेयकको प्रतिवेदन सदनमा प्रस्तुत भएको थियो ।