पाँचथर/फिदिम नगरपालिकाभित्रका ५–१२ वर्ष उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेको घोषणा गरिएको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा घोषणा गरिएको हो । नेपाल सरकारको विद्यालय भर्ना अभियान दोस्रो चरणअन्तर्गत नगरभित्र रहेका ५–१२ वर्ष उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गरिसकिएकाले उक्त घोषणा गरिएको नगरपालिकाले जनाएको छ । प्रमुख अतिथिको आसनबाट कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटाले बालबालिकालाई विद्यालय भर्ना गरिए पनि टिकाइराख्न चुनौती रहेको उल्लेख गरे । यो विषय निकै संवेदनशील विषय भएकाले यसमा सबै सरोकारवालाको ध्यान जानुपर्ने सापकोटाको भनाइ थियो ।
फिदिम नगरपालिकाका मेयर ओनाहाङ नेम्बाङले नगरका सबै विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिँदै त्यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्न कन्जुस्याइँ नगर्ने बताए । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले राज्यले शिक्षा क्षेत्रमा ठूलो लगानी गर्दै आए पनि त्यसले चित्तबुझ्दो उपलब्धि भने दिन नसकेको उल्लेख गरे । शिक्षा क्षेत्रको खस्कँदो गुणस्तरलाई उकास्न सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो । जिल्ला शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख युगमणि सबेहाङले विविध कारणले विद्यालयको पहुँच बाहिर रहेका बालबालिकालाई विद्यालयमा नियमित गराउन भर्ना अभियानको मुख्य उद्देश्य भएकाले त्यो उद्देश्य प्राप्तिका लागि सबै लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाली काङ्ग्रेस पाँचथरका सचिव रुपनारायण जबेगु, सङ्घीय लिम्बुवान मञ्चका सदस्य डिआर हाङसरुम्बा, पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल, सुम्निमा आधारभूत विद्यालयका शिक्षक इन्द्रकला राई र पत्रकार जितेन्द्र भण्डारीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा भर्ना अभियानलाई सफल बनाउन सहयोग गर्ने नगरपालिकाको १४ वटै वडाका वडाध्यक्ष र सामुदायिक अध्ययन केन्द्रहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।