सङ्गीतले मन तान्छ । मन अनुभूति हो । अनुभव होइन । अनुभव त सबैसँग हुन्छ । तर अनुभूति कमैसँग हुन्छ । जोसँग अनुभूति हुन्छ, उसैले सङ्गीतका तारहरूलाई जोड्छ । कविता अनुभवको शृङ्खला हैन, अनुभूतिका शृङ्खला हुन् । अनुभवलाई अनुभूतिमा ढाल्ने कला नै काव्य हो । काव्य सानो, मझौला र बृहत् होला । अनुभूति कत्रो छ । त्यो आधारमा काव्यले आकार लेला सायद । काव्यमा सङ्गीतको फ्युजन अर्थात् घुलन, मिश्रण । पछिल्लो पटक यस्तै फ्युजन हेर्ने अवसर जुट्यो धरानको माउन्ट हर्मन एकेडेमीमा । विद्यार्थीहरूले सङ्गीत र कवितालाई ‘घुलन’ गराए । जहाँ धराने स्रष्टाका कवितामा सङ्गीतको फ्युजनले आश्वाद्य बनाएको थियो । कक्षा ९ र १० का विद्यार्थीहरूले धरानका स्रष्टा कवि सुदीप पाख्रिन, राजेश विद्रोही, सन्तोष थेवे र राज माङ्लाकका कविता एकपछि अर्को गर्दै सुनाए । साथमा स्रष्टा भूपी शेरचनको एउटा कविता पनि सुनाइयो । सङ्गीतसँगै कविताको प्रयोग सायद धरान अग्रपंक्तिमा आउला । यसअघि पत्रकार तथा कवि राजेश विद्रोहीको कवितामाथि नाटक प्रदर्शन भएको थियो । प्लेब्याक सङ्गीतमा कवितामाथि गरिएको उक्त नाटक अन्त्यन्तै रुचाइएको थियो । सायद त्यही कालखण्डदेखि धरानमा सङ्गीत र कविताको फ्युजन गराउन थालियो ।

धरानमा चित्रकलासँग पनि सङ्गीतको फ्युजन नभएको होइन । यस्ता प्रयोगमा धरानले एकखालको छाप छोड्न सफल छ । यसैलाई विद्यार्थीहरूले ‘किड्स टाइम्स’ को आठौं वार्षिकोत्सवमा गरिएको कविता र सङ्गीतको फ्युजन हेर्नलायक थियो । सङ्गीत बजाउन पनि विद्यार्थीहरू नै संलग्न थिए । यसले विद्यालय अतिरिक्त क्रियाकलापमा कति अगाडि छ भन्ने सङ्केत गरेको छ । निजी विद्यालयहरूमा पढाइ–पढाइ मात्रै हुन्छ भन्ने सन्देशलाई यो फ्युजनले तोड्दै थियो । जुन सामुदायिक विद्यालयमा पनि यो खालको अभ्यास सायदै हुन्छ । निजी विद्यालयका निश्चित घेरा यो कार्यक्रमले तोडेको थियो । कार्यक्रममा सहभागी अतिथिहरूले पनि कार्यक्रमले फरक अनुभूति गराउन सफल भएको बताएका थिए । मनका तारहरू जोड्न सङ्गीतले अहम् भूमिका खेल्छ । सङ्गीतमा नरमाउनेहरू पनि सायदै होलान् । यसले मानसिक, शारीरिक रूपमा स्फूर्तिमात्रै दिँदैन । मनलाई आनन्दित बनाउने काम पनि गर्छ । सानै उमेरदेखि बच्चाहरूलाई सत्कर्म सिकाइयो भने उनीहरूले भविष्यमा पनि सत्कर्ममार्फत् समाज परिवर्तन गर्नमा भूमिका खेल्लान् । स्कुलको अर्थ पढाउनु मात्रै होइन । अतिरिक्त ज्ञान प्रवाह गर्नु पनि विद्यालय हो । सिकाइ सीमित होला । तर जीवनका अनुभवहरू असीमित हुन्छन् । जसले जीवन डो¥याउने काम गर्दछ । कक्षा ९ का निश्चल राई, सागरिका राई, सुविन राई, इच्छा ठकुरी र कक्षा १० का सिसम श्रेष्ठ, समन राईले स्रष्टाका कविताहरू वाचन गरिरहँदा सङ्गीतका तारहरूले उनीहरूको अन्तस्करणलाई जोडिरहेको थियो । कविता अनुभूतिबाट प्रकटीकरण हुने हुँदा सङ्गीतले पनि त्यसलाई थप जोड्यो । कविता र सङ्गीतको घुलनले माहौल नयाँ तरङ्ग सिर्जना गरेको थियो ।

कविद्वय सुदीप पाख्रिन र राजेश विद्रोहीले पनि त्यसलाई अनुभूत गरे । विद्रोहीले त्यसक्रममा अन्य कार्यक्रमभन्दा फरक जसले मन तानिरहेको सन्दर्भ प्रस्तुत गरे । विद्यार्थीहरूले कविता मात्रै हैन, गीतले पनि अतिथिको मन ताने । त्यसक्रमममा प्रशान राई, मौसम राई, अभियान तामाङ र सुपील उदासले आफ्नो कौशलता प्रदर्शन गरे । रङ्गीबिरङ्गी छाताले कार्यक्रमलाई थप आकर्षण थपेको थियो । ‘अम्ब्रेला डे’ का रूपमा चित्रित गरिएको उक्त कार्यक्रममा नयाँ प्रयोग त्यहाँ पनि देख्न सकिन्थ्यो । फ्युजन धरानमा प्रयोग भइरहन्छ । तर, त्यसरी छाताहरू राखेर गरिएको कार्यक्रम भने नौलो थियो । जुन युरोपियन मुलुक पोर्चुगलमा पर्यटक भिœयाउनका लागि वर्षको एकपटक ‘अम्ब्रेला डे’ गरिन्छ । त्यसैको सिको गर्दै गरिए पनि केही नौलो पक्कै थियो । विद्यालय शिक्षालय हो । जहाँ शिक्षा पहिलो सर्त हो । तर, माउन्ट हर्मन एकेडेमीले विद्यार्थीहरूलाई विभिन्न सामाजिक कार्य तथा अतिरिक्त कार्यमा संलग्न गराएको यो पहिलो पटक भने होइन । विद्यार्थी उमेर अनुभवको शृङ्खलाको उमेर । अनुभूतिको प्रारम्भ सायदै केही समयपछि आउँदै जाला । त्यही अनुभूतिले उनीहरूमा कवि तथा सङ्गीतमा नयाँ फड्को मार्ने अवसर प्राप्त होला । जसरी कविता र सङ्गीतको फ्युजन भयो । अनुभवको फ्युजन भयो । अनुभूतिको फ्युजनका लागि सायद पर्खिनु पर्ला कि ?