धनकुटा/ त्रिवेणी सांस्कृतिक समूह धनकुटा–७ ले संस्थाको १५ औं स्थापना दिवसका अवसरमा धनकुटा नगरका विभिन्न विद्यालयमा अध्ययनरत तथा एसईईमा उत्कृष्ट नतिजा ल्याउने १२ जना छात्र–छात्रालाई आइतबार छात्रवृत्ति वितरण गरेको छ । सो अवसरमा ०७४ को एसईई परीक्षामा त्रिवेणी माध्यामिक विद्यालय धनकुटा–७ बाट उत्कृष्ट नतिजा जीपीए ३.८८ ल्याई सामुदायिक विद्यालयतर्फ धनकुटा जिल्ला प्रथम हुन सफल हेन्साङ्ग दोर्जी लामा, भाषा माध्यामिक विद्यालय धनकुटा–३ बाट जीपीए ३.०५ नतिजा ल्याई विद्यालय प्रथम भई उत्तीर्ण हुने सृष्टिका ढुङ्गेल, गोकुण्डेश्वर माध्यमिक विद्यालय धनकुटा–६ सिरान बजारबाट जीपीए ३.५० नतिजा ल्याई उत्तीर्ण हुने युवराज पौडेल, गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय धनकुटा–५ बाट जीपीए ३.३५ नतिजा ल्याई उत्तीर्ण हुने सेमिहाङ्ग लिम्बूलाई छात्रवृत्ति स्वरुप जनही २ हजार नगद प्रदान गरिएको थियो ।
त्यसैगरी धनकुटा बहुमुखी क्याम्पसमा बी.एड. प्रथम वर्षमा अध्ययनत गङ्गाराम दास, त्रिवेणी माविमा कक्षा–१२ मा अध्ययनरत विनिषा गजमेर, त्रिवेणी मावि कै कक्षा–१० मा अध्ययनरत रोशन रसाइली, रोशन गुरागाईं, जेहेन्दार तथा अपाङ्गता भएका विद्यार्थी शितल राई, कक्षा–४ मा अध्ययनरत फिलिप विक, कक्षा–९ मा अध्ययनरत सुस्मिता राई र भाषा मावि कागतेमा कक्षा–१ मा अध्ययनरत बुवाआमा नभएका आदित्य महरालाई पनि जनही २ हजारको दरले नगद छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा धनकुटा नगर क्षेत्रमा रहेका विश्वविद्यालय तथा विभिन्न विद्यालयमा अध्ययनरत विपन्न, गरिब तथा जेहेन्दार १२ जना छात्र–छात्रालाई प्रतिनिधिसभा सांसद राजेन्द्रकुमार राई र प्रदेशसभा सांसद कुसुम कुमारी श्रेष्ठ (जुुली) ले नगद पुरस्कार प्रदान गरेका थिए । प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार दिपक बराइली, गायिका शशी रावल, देवेन चेम्जोङ्ग, स्थानीय कलाकार जुनी खालिङ, इन्द्र सुशील चेम्जोङ, ट्रिन्सक्रिउ डान्स सेन्टर धनकुटा र त्रिवेणी सांस्कृतिक समुह–७ धनकुटाका स्थानीय कलाकारले प्रस्तुति दिएका थिए । कलाकार दिपक बराइलीले आधा दर्जन बढी गीत गाएका थिए । दीपकसँगै गायिका शशी रावल र धनकुटे गायक देवेन चेम्जोङ्गले आफ्ना गीता दर्शकलाई नचाएका थिए ।
त्रिवेणी सांस्कृतिक समूहका अध्यक्ष ज्ञानबहादुर आठपहरियाको अध्यक्षतमा सम्पन्न १५ औं वार्षिक उत्सव तथा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टङ्कबहादुर चौहान, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सामाजिक सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिको उल्लेख्य सहभागिता थियो । सो अवसरमा कार्यक्रमको सञ्चालन त्रिवेणी सांस्कृतिक समूहकी कोषाध्यक्ष शुखाकला राईले गरेका थिए भने कार्यक्रममा सहभागीलाई संस्थाको तर्फबाट स्वागत मन्तव्य सचिव नारायण विकले राखेका थिए । कार्यक्रममा हजारौँ दर्शकहरूको सहभागिता थियो । सांस्कृतिक कार्यक्रमको टिकट बिक्रिबाट ९० हजार नगदसमेत सङ्कलन भएको सचिव नारायण विकले जानकारी दिए ।