इटहरी/ इटहरी पश्चिमलाइन नेपाल टेलिकम जाने बाटोको मुखैमा एउटा सानो अस्थायी घाम पानी छेल्न छातै छाताको छाप्रो छ । त्यही छाप्रोमा सेतै फुलेका इटहरी–८ का ५६ वर्षीय उपेन्द्र हरिजन ३५ वर्षदेखि जुत्ता टालिरहेका छन् । ३५ वर्ष च्यातिएका र चुँडिएका जुत्ताचप्पल टालेर बिताएका उपेन्द्रको पुख्र्यौली पेशा भने होइन । बाउ बाजेको र पुर्खाले गदै आएको पेशा भने मरेका गाईवस्तु फाल्ने हो । तर एउटा पेशा गरेर बस्ने सुर चल्यो र उनले फाटेका जुत्ता खुब टाले तिनै फाटेका जुताले उनको जीवन सिलाइरहे । मिहिनेतका कारण अहिले उनी लखपती छन् ।

शुरुमा त बजार पनि त्यति विस्तार भएको थिएन । जसोतसो दिन काट्न मात्रै हुन्थ्यो तर विस्तारै उनी आफ्नो सीपमा दक्ष हुँदै गए । उनलाई विश्वास थिएन कि यसरी जुत्ता सिलाएरै जीवन चल्ला भनेर । उनी आफ्नो पेशाप्रति पूर्ण सन्तुष्ट छन् । एउटा मज्जाको कुरा त के भने उपेन्द्रले ३५ वर्ष जुत्ता सिलाएर गुजारामात्र चलाएनन् आफ्ना सन्तानको पढाउनुका साथै अहिले उनको इटहरीजस्तो शहरमा पक्की घर छ । ‘पहिले–पहिले तल्लो जाति भनेर धेरैले हेप्थे ,’ उनले पुराना दिन सम्झे, ‘तर अहिले मेरो श्रम र कर्मको फल देखेर सबै प्रशंसा गर्छन् ।’ उपेन्द्र भन्छन्, ‘छोराहरू आफ्नो खुट्टामा उभिने भइसके, मैले मिहिनेत गर्न छोडिनँ, पुख्र्योली पेशा नगरे पनि आफूले अँगालेको पेशा छोडिनँ ।’ आफ्नो पेशाको निरन्तरताप्रति उपेन्द्र गर्व गर्छन् ।

‘जुत्ता सिएरै ३५ वर्ष बिताएँ, अहिले आरामको जिन्दगी छ, छोरीको बिहे गरिदिएँ, ५० हजार दहेज पनि दिएँ ।’ उपेन्द्रले सगौरव सुनाए आफ्ना कथा । उपेन्द्रले दिनहुँजसो पालिस लगाएर र जुत्ता सिलाएरै पैसैमात्र कमाएनन् । उनले धेरै मान्छे पनि कमाए । उनका नियमित ग्राहक छन्, जो उनका शुभचिन्तक र हितैषी पनि हुन् । ‘सेवामा हाजिर छु , सधैँ आउने ग्राहक छन्, नयाँ पनि आउनुहुन्छ, तर एकपटक आएपछि सधैँ आफ्नै बन्नहुन्छ ।’ उपेन्द्र भन्छन् । घाम पानी नभनी सडक किनारमा बस्दै आएका उनलाई अहिलेसम्म पैसाको अभाव झेल्नु परेको छैन । मुसिकोटमै घर छ ।

‘सबै त कसलाई पुगेको छ र ? भगुवान पनि अपूरो नै छन् भने हामी त मानव हौँ ।’ उनी खुसी पोख्दै भन्छन्, ‘अलिअलि पैसा गाउँमा ब्याजमा दिएको छु आफूलाई अपुग छैन अहिले छोराहरूले पनि पैसा कमाउँछन्, आफ्नो काममा सन्तुष्ट छु ।’