पथरीशनिश्चरे/प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरी बहुमुखी क्याम्पसलाई जातीय सम्पदाको अध्ययन, सोध र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् । क्याम्पसको सञ्चालक परिषद बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री कार्कीले नगरको भूटानी शरणार्थी क्षेत्रमा वन्ने प्रदेशको गौरवको कार्यक्रम अन्तर्गतको बहुजातीय सांस्कृतिक संग्राहलयको सन्दर्भ जोड्दै सो कुरा बताएका हुन् । उनले भने ‘नजिकै बहुजातीय सांस्कृतिक संग्रहालय बन्छ । यस क्याम्पसलाई तिनै जातजातिको सम्पदाको अध्ययन, शोध र अनुसन्धानको केन्द्रको रूपमा विकास गर्न सकिन्छ । यसका लागि प्रदेश सरकारले पनि सहयोग पुर्याउँछ ।’ उनले प्रदेश सरकारमार्फत संग्रहालयलाई सांस्कृतिक पर्यटकीयस्थलका रुपमा विकास गरिने उल्लेख गर्दै निर्माणको काम चाँडै अघि बढ्ने उल्लेख गरे । उनले प्रारम्भिक सर्भेको काम अगाडि बढिसकेको सुनाए । प्रदेश सरकारकातर्फबाट इडी कन्सल्टका राजेन्द्र भट्टराई अगुवाईको टोलीले संग्रहालयका लागि प्रस्तावित क्षेत्रको प्रारम्भिक अवलोकन गरिसकेको छ । क्याम्पससभामा, सञ्चालक समिति अध्यक्ष मोहनकुमार न्यौपानेले क्याम्पसलाई प्रदेश सरकारले जातीय सम्पदाको अध्ययन केन्द्र बनाउने कुराप्रति खुसी व्यक्त गर्दै त्यसका लागि प्रदेशले योजना बनाउन माग समेत गरे । उनले नगरको एउटै मात्र सामुदायिक क्याम्पस सञ्चालनमा आर्थिक कठिनाई भइरहेको कुरा पनि मन्त्री कार्की समक्ष जानकारी गराए । ०६४ सालमा स्थापना भई शिक्षाशास्त्र र व्यवस्थापन अन्तर्गत स्नातक तहसम्मको अध्यापन भइरहेको क्याम्पसलाई एमएडको कक्षाका लागि त्रिभूवन विश्वविद्यालयबाट अनुगमन भएको उनले जनाए । सो अवसरमा क्याम्पसले संस्थापक सञ्चालक समिति, समाजसेवी, शिक्षासेवीहरुलाई सम्मानित गरिएको छ ।