वराहक्षेत्र/वराहक्षेत्रको पुनरवासमा निर्माण हुदै गरेको वराह आदर्श क्याम्पसको भवन रकम अभावका कारण चार महिनादेखि रोकिएको छ ।वराहक्षेत्र नगरपालिकाले क्याम्पस लाई आर्थिक वर्ष २०७५÷७६ मा ५० लाख रकम दिने निर्णय गरिएपनि हालसम्म रकम प्राप्त नहुदा भवनको निर्माण कार्य रोकिएको हो ।
गत वैसाख देखि भवन निर्माण कार्य बन्द भएको वराह आदर्श क्याम्पस भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष लालकुमार राईले बताए ।
नगरपालिकाले क्याम्पसको भवन निर्माणको लागि नगर योजना वाट आर्थिक वर्ष २०७४÷७५ मा १६ लाख रुपैंया छुट्टाएको थियो । स्थानियको श्रमदान २ लाख ८४ हजार दुवै मिलाएर करिव १९ लाख रुपैंयामा भवनको जग टाईविम लगाउने सम्मको कार्य सम्पन्न भएको अध्यक्ष राईले बताए ।
नगरपालिकाको वडा नम्बर २ मा बन्ने २ तल्लाको ८ कोठे क्याम्पस भवनको कुल लागत १ करोड ३७ लाख रुपैंया रहेको छ । भवनको शिलान्यास नगरप्रमुख निलम खनालले गरेका थिए ।
यस आर्थिक वर्षमा क्याम्पसका लागि नगर परिषदले यकिन कति रकम छुट्टाएको थाहा नभएपनि त्यो ४५ अथवा ५० लाख हुन सक्ने भन्दै नगरपालिकाको प्रशासकीय प्रमुख अच्युत प्रसाद दाहालले योजना खाता छपाईको लागि पठाएको बताए ।
कलेजको आफ्नो भवन नहुदा वडा २ मा रहेको आदर्श माध्यमिक विद्यालयमा कक्षाहरु सञ्चालन गरिरहेको क्याम्पस प्रमुख रमेश चौहानले जानकारी दिए ।उनले स्थानिय दाताहरुबाट ६ कठ्ठा जग्गा दान दिएको बताए ।
क्याम्पसले स्नातक तह तर्फ तिन वर्षे व्यवस्थापन संकायमा विविसको कक्षा सञ्चालन गरिरहेको छ भने होटल व्यवस्थापन र १ वर्षे बिएड कक्षा सञ्चालन गरिने योजना रहेको क्याम्पस प्रमुख चौहानले जानकरी दिए । क्याम्पसमा सुनसरी,उदयपुर र धनकुटा र भोजपुर ६३ विद्यँर्थी अध्ययनरत छन् ।