वराहक्षेत्र/ वराहक्षेत्रको पुनरवासमा निर्माण हुँदै गरेको वराह आदर्श क्याम्पसको भवन निर्माणमा रकम अभावका कारण चार महिनादेखि रोकिएको छ ।

वराहक्षेत्र नगरपालिकाले क्याम्पसलाई आर्थिक वर्ष ०७५/७६ मा ५० लाख रकम दिने निर्णय गरिएपनि हालसम्म अनुदान रकम प्राप्त नहुँदा भवनको निर्माण कार्य गत वैशाखदेखि बन्द भएको वराह आदर्श क्याम्पस भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष लालकुमार राईले बताए ।

नगरपालिकाले क्याम्पसको भवन निर्माणका लागि नगर योजनाबाट आर्थिक वर्ष ०७४/७५ मा १६ लाख रुपैयाँ छुट्याएको थियो । स्थानीयको श्रमदान २ लाख ८४ हजार दुवै मिलाएर करिब १९ लाख रुपैयाँमा भवनको जग टाइबिम लगाउने कार्य सम्पन्न भएको अध्यक्ष राईले बताए ।

‘त्यसपछि अहिलेसम्म रकम पाइएको छैन कसरी काम गर्ने ?’ उनले भने । नगरपालिकाको वडा नम्बर २ मा बन्ने २ तल्लाको ८ कोठे क्याम्पस भवनको कुल लागत १ करोड ३७ लाख रुपैयाँ रहेको राईले बताए ।

भवनको शिलान्यास नगरप्रमुख निलम खनालले गरेका थिए । यस आर्थिक वर्षमा क्याम्पसका लागि नगर परिषद्ले यकिन कति रकम छुट्याएको थाहा नभए पनि त्यो ४५ अथवा ५० लाख हुन सक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अच्युतप्रसाद दाहालले बताए ।

क्याम्पसको आफ्नो भवन नहुँदा वडा २ मा रहेको आदर्श माध्यमिक विद्यालयमा कक्षाहरू सञ्चालन गरिरहेको क्याम्पस प्रमुख रमेश चौहानले बताए । स्थानीय दाताहरू प्रेमकुमार राईले १ कट्ठा, गोमादेवी सापकोटा र भूमिराज विककी आमाले ७/७ धुर, यसैगरी डम्बर विश्वकर्मा, डिगमाया मगर, सविता मगर र लालकुमार राईले गरी जनही १०–१० धुर गरी ६ कट्ठा जग्गा दान दिएको बताए ।

क्याम्पसले स्नातक तहतर्फ तीन वर्षे व्यवस्थापन सङ्कायमा बीबीएस कक्षा सञ्चालन गरिरहेको छ  । होटल व्यवस्थापन र १ वर्षे बीएड कक्षा सञ्चालन गरिने क्याम्पसको योजना रहेको प्रमुख चौहानले जानकरी दिए ।

क्याम्पसमा सुनसरी, उदयपुर, धनकुटा र भोजपुरका ६३ विद्यार्थी अध्ययनरत छन् ।