काठमाडौँ / सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) को अध्यक्षमा भारती पाठक निर्वाचित भएका छन् । यही असोज १५ देखि १७ गतेसम्म काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट पाठक सर्वसम्मत रूपमा निर्वाचित भएका हुन । पाठक यसअघि कार्यसमितिको महासचिव थिए । कार्यसमितिको महासचिवमा विर्षबहादुर शाही र सचिवमा ठाकुर भण्डारी सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन समितिका सदस्य सचिव दिलराज खनालले जानकारी दिए । उपाध्यक्ष र कोषाध्यक्षको चयन भने विहीबार बस्ने समितिको पहिलो बैठकले गर्नेछ । महाधिवेशनले प्रत्येक प्रदेशबाट आठ सदस्य (चार महिला र चार पुरुष) को प्रतिनिधित्व हुने गरी ५६ र समावेशी सदस्यतर्फ २६ गरी कूल ८२ सदस्यीय कार्यसमिति चयन गरेको हो । समितिका निर्वाचित सदस्यबाटै पदाधिकारी चयन हुने फेकोफनको प्रावधान छ । कार्यसमितिमा तीन सदस्य मनोनयन हुने व्यवस्था छ । कार्यसमितिको आज बस्ने पहिलो बैठकले उपाध्यक्ष र कोषाध्यक्षको पनि सहमतिमै चयन हुने नवनिर्वाचित महासचिव शाहीले जानकारी दिए । महाधिवेशनमा देशभरका ७२५ प्रतिनिधिको सहभागिता थियो ।