धनकुटा /  लामो सयमदेखि फलामे साङ्गलाले बाँधेर राखिएका धनकुटा नगरपालिका वडा नं. १० का एक युवकलाई विहिवार उद्वार गरिएको छ ।  घरायसी आर्थिक अवस्था कमजोर भएका कारण २१ वर्षिय मोहन श्रेष्ठका परिवारले उपचार नगराई बाँधेर राखिएको थियो । एनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले निःशुल्क उपचार गरिदिने भएको छ । अस्पतालसम्म लैजान धनकुटा नगरपालिकाले सवारी साधन उपलब्ध गराएको छ । स्थानिय सञ्चारकर्मी र आफन्तको रोहवरमा उनलाई उद्वारगरि धरान लगिएको हो । धामि झाँक्री (बोन्बो) को भर पर्दा महिनौंदेखि उनी फलामे साङ्गलाको बन्धनमा वाँधिएका थिए । सुरुमा उपद्रो गर्दै घरपालुवा पशुपन्क्षि समेत मार्ने र अभद्र व्यवहार गरेपछि उनलाई बाधेर राख्न बाध्य भएको बाबु पहलमान श्रेष्ठले बताए । गत चैत महिनादेखि उनमा असामान्य अवस्था आएपछि परिवारजनले झारफुकमा एकपछि अर्को धामीको भर पर्दै गएपछि श्रेष्ठको अवस्था दयनिय बन्दै गएको थियो । ‘निको पारिदिने भन्दै धामीझाक्रीले धेरै खर्च गरिदिए’, उनले भने, ‘तर बीसको उन्नाईस नभएपछि उनीलाई घरमा बाँधेर राखेका थियौ ।’ साङ्गलाले बाँधिएको युवककोबारे सञ्चारमाध्यमबाट जानकारी पाएपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा.मधुर बस्नेतले उपचार गरिदिने प्रतिवद्धता जनाएका थिए । बिरामीको निःशुल्क उपचार तथा एक जना कुरुवालाई समेत प्रतिष्ठानले बस्ने प्रबन्ध मिलाएको डा.बस्नेतले बताए । प्रतिष्ठानको उपचार कोषबाट आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क उपचार गराईने व्यवस्था छ ।

[caption id="attachment_96211" align="aligncenter" width="740"]  [/caption]