पानवारी  /  स्वतन्त्र राष्ट्रिय अभियान नेपालले स्रोत नखुलेको सम्पति राष्ट्रियकरण गर्न माग गर्दै मेची–महाकाली यात्रामा निस्केको छ । धरानको भानुचोकमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी अभियानले आफ्ना धारणा प्रस्तुत गरेको छ । अभियानमा धरानबाट १२ जनाले प्रत्यक्ष सहभागिता जनाउन प्रतिबद्धता जनाएका छन् । नेपालको मध्य क्षेत्र नवलपरासी जिल्लाबाट सुरु भएको अभियान कैलाली, भैरहवा, रुपन्देहीहुँदै सुनसरी आइपुगेको हो । असोज १६ गतेदेखि देशका सम्पूर्ण जिल्लामा सचेतनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ निस्किएको अभियान तिहार पछाडीसम्ममा सबै जिल्लामा पुग्ने लक्ष्य रहेको अभियन्ता स्वागत नेपालले जानकारी दिए । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले सबै तहका नेता, कर्मचारी, वकिल, न्यायाधीस, प्रशासक जस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्तिको छानविन गरी स्रोत नखुलेको सम्पत्ति राष्ट्रिय करण गर्न आवाज उठाउँदै आएको छ । अभियानले गरेको अध्ययन अनुसार यी सम्पत्ति राष्ट्रियकरण भए नेपालको ११ वर्षको बजेट बराबरको रकम राष्ट्रिय कोषमा फिर्ता हुने दाबी गरेको छ । यसका साथै अभियानले दुई दलीय व्यवस्था, सांसदहरु मन्त्री, प्रधानमन्त्री हुन नपाउने व्यवस्था, जनताको ५१ प्रतिशत मत ल्याउनेले मात्रै सरकार बनाउन पाउने व्यवस्था ल्याउनका लागि आवाज उठाउँदै आएको छ । अभियानले अहिले देशवासीमाझ आफ्नो अवधारणाहरुको बारेमा जानकारी गराउँदै सचेतनात्मक कार्यक्रम गरिरहेको छ । सचेतनात्मक अभियान सकिएपछि सरकारसँग आफ्ना मागहरु राख्ने र दबाव सिर्जना गर्ने कार्यक्रम रहेको अभियन्ता स्वागत नेपालले बताएका छन् ।