काठमाडौं / प्रमुख सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज ४ बजे बस्ने भएको छ । प्रदेश पदाधिकारीको चयन र सरकारको काम–कारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि पोख्न थाले पछि नेकपा सचिवालय बैठक राखेको हो । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेश भ्रमणमा रहेका बेला सचिवालय बैठकले प्रदेश कमिटीको जिम्मेवारी तोकेको थियो । एकलौटी निर्णय भएको भन्दै नेपाल समूहले यसमा चर्को असन्तुष्टि जनाउदै आएका छन् । नेपालले संसदमै सरकारको आलोचना गरेका थिए । उनले स्थायी समितिको बैठकसमेत बोलाएर आफ्नो कुरा राखेका छन् । आइतबार अपराह्न ४ बजे बस्ने नेकपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठक यही विषयमा केन्द्रित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सरकारको काम–कारबाहीलाई लिएर समेत नेकपामा पछिल्लो समय असन्तुष्टि बढ्दै गएको छ । एक केन्द्रीय नेताका अनुसार आज बस्ने बैठकमा प्रदेश समितिका विषयमा समेत छलफल हुने बताइएको छ ।