काठमाण्डौं / काठमाण्डैं निर्वाचन क्षेत्र नं ७ बाट चुनाव उठ्ने तयारी गरेका नेकपा सचिवालय सदस्य नेता वामदेव गौतमले चर्को आलोचना खेपेपछि चुनाव नलड्ने भएका छन् । गौतमलाई पार्टी भित्रैबाट पनि आलोचना भएपछि उनी पछि हटेका छन् । सामाजिक सञ्जालहरुमा दुई दिन यता गौतमविरुद्ध निकै आलोचना भएको थियो । आफ्नै पार्टीका कार्यकर्ताहरुले पनि उनलाई सामाजिक सञ्जालहरुमा सुझाव तथा गाली गरेका थिए ।

काठमाडौं क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरले गौतमलाई चुनाव उठाउनको लागि भन्दै पत्रकार सम्मेलन गरेर राजिनामा दिएको घोषणा गरेका थिए । उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमार्फत राजिनामा पत्रसमेत पार्टी सचिवालायमा बुझाइसकेका थिए । तर, मानन्धरको ठाउँमा गौतमलाई चुनाव लडाउने बिषयमा पार्टीभित्र छलफल नभएको भन्दै नेता इश्वर पोखरेलले अभिव्यक्ति दिएकाा थिए । संसदीय चुनावमा गौतम बर्दिया १ मा पराजित भएका थिए । काठमाण्डौमा आलोचना र समास्या हुने सुझाव आए पनि सुनसरी क्षेत्र नं. १ को पनि चर्चा चलेको थियो ।

संसद् छिर्न काठमाडौं–७ को बाटो वामदेव गौतमको पहिलो रोजाइ थिएन । डोल्पाका धनबहादुर बुढा, दैलेखका रवीन्द्र शर्मा, बैतडीका दामोदर भण्डारी, बाँकेका नन्दलाल रोकाया, प्युठानकी दुर्गा पौडेल र नवलपरासीका तिलक महतलाई राजीनामा गराउने प्रयास असफल भएपछि वामदेव राजधानी छिरेका हुन् । डोल्पालगायतकै क्षेत्रमा सांसदहरूले वामदेवलाई छोड्ने प्रारम्भिक सहमति दिए पनि शीर्ष नेताहरूबाट सकारात्मक सन्देश नपाएपछि पछि फर्किएका हुन् । वामदेवका लागि ठाउँ छाड्न सांसद रामवीर मानन्धर तयार भए पनि अध्यक्ष केपी ओलीसहित अधिकांश सचिवालय सदस्य विपक्षमा देखिएका थिए । झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले विपक्षमै अभिव्यक्ति दिए । उता, महासचिव विष्णु पौडेल पनि पछिल्ला विकसित घटनाक्रमबारे अनभिज्ञता जनाउँदै मौन बसे । वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेनन्, तर समर्थनमा बोल्न सकेनन् । प्रचण्डको साथ रहे पनि गौतमलाई काठमाडौं–७ बाट उम्मेदवार बनाउने निर्णय गर्न कठिन भएकाले २३ असोजका लागि बोलाइएको सचिवालय बैठक २७ असोज हुँदै ४ र ५ कात्तिकका लागि सारिएकाे थयाे ।

सांसद रामवीर मानन्धरले स्थानीय पार्टी कमिटी र नेता–कार्यकर्ता कसैसँग राय–परामर्श नगरी पत्रकार सम्मेलनमार्फत राजीनामा घोषणा गरेकाले पनि निर्वाचन क्षेत्रमा नकारात्मक जनमत बनेकाे थियाे ।  काठमाडौं–७ का प्रदेश सभा सदस्यहरूसहितका नेताहरूले पार्टी अध्यक्ष ओली र प्रचण्डलाई भेटेरै उपनिर्वाचनको प्रसंगले नकारात्मक सन्देश गएको र गौतमको विजय सुनिश्चित गर्न नसकिने जानकारी गराएका थिए । गत स्थानीय निर्वाचनमा काठमाडौं–७ मा पर्ने चारमध्ये तीन वडाध्यक्ष कांग्रेसले जितेको थियो । प्रतिनिधिसभा सदस्यमा रामवीर मानन्धर ८ हजारको फराकिलो अन्तरले विजयी बनेका थिए । तर, त्यहाँ कांग्रेस आफैं उम्मेदवार नबनेर राप्रपालाई छाडेको थियो ।