बेलबारी / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय प्रणालीको बारेमा नेताहरुले जनतालाई शुरु देखि नै स्पष्ट बुझाउन नसक्दा अहिले देखा परेको समस्याले उल्झन ल्याएको बताएका छन् । जनसाँस्कृतिक महासंघ मोरङद्धारा आईतवार बेलबारीमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री पण्डितले बताएका हुन् । संघीय प्रणालीको संभावना र चुनौति दुवै पक्षको बारेमा नकेलाएको कारण राम्रो मात्र हुन्छ भने पछि अहिले समस्या देखा परेको मन्त्रिले बताए । विशेष गरेर करको विषयमा केन्द्र,प्रदेश र स्थानीय सरकार स्वायत्त रहेको छ । तर स्थानीय सरकारले बनाएको कर नीतिको विरोध प्रधानमन्त्रीले खेप्नु परेको छ । त्यसै गरि सरकारले ल्याएको मुलुकी ऐनको विश्लेषण गर्दै मन्त्री पण्डितले अब जातिय भेदभाव विरुद्ध बोलेमा कडा कारवाही हुने पनि बताएका छन् । हिजोको जस्तो पीडितलाई झन् पीडित बनाउने हैन अबको कानुनले पीडितलाई राहत दिने छ , त्यो कानुन हामीले ल्याएका छौं । कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझा,पूर्व सभासद मधु गुरुङ, ऋषिकेष पोख्रेल, पूर्व राज्यमन्त्री गोपी आछामी, नेकपाका केन्द्रिय सदस्यहरु गुरु वराल, विनोद ढकाल,गणेश उप्रतीलगायतका नेताहरुको कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न जातिय सास्कृतिक गीत तथा नृत्यहरु पस्केका थिए । कार्यक्रम महासंघ मोरङका अध्यक्ष संजिव धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो ।