मोरङ/ सुरुवाती दिनमा ४० रुपैंयामा लेबर काम गरेर आर्थिक रुपमा सवल भएका मोरङ उर्लाबारी ९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफु जन्मे हुर्केको वडाको विद्यालयलाई उल्लेखनिय सहयोग गरिरहेका छन् । ।
यतिवेला उनले आफ्नो वडाको विद्यालयलाई भौतिक पूर्वाधार सम्पन्न विद्यालय बनाउन क्रियाशिल छन् । ।
सुन्दर श्रेष्ठ यस्तो समाजसेवी हुन, जो अरुलाई मागेर होईन, आफ्नो पसिना बगाएर कमाएको रकम गाउँको विकासमा खर्चिदै छन् । श्रेष्ठ जस्तो सहयोग गर्ने मानिसहरु समाजमा विरलै पाईन्छ ।
उर्लाबारी—९ को प्रभात निमावि,राजघाट निमावि र सार्वजनिक माविमा उनले उहाहरणयोग्य सहयोग गरेका छन्।
जसको कारण अभिभावकहरु र स्थानीयहरुको जनजिब्रोबाट सुन्दर श्रेष्ठको प्रशंसा भईरहेको पाईन्छ । सुन्दरले प्रभात निमाविमा आफ्नो एकल लगानीमा ट्रस सहितको स्टेज बनाई दिएका छन्।
उनले घेराबारामा पनि महत्वपूर्ण सहयोग गरे । विद्यालयमा पिङ वालउद्यानका समाग्रीहरु सहयोग मात्र गरेका छैनन् , विद्यालयमा रंगरोगन पनि आफ्नै खर्चमा गरेका छन्। त्यो भन्दा अझ महत्वपूर्ण कुरा विद्यालयका १० जना विद्यार्थीलाई आफ्नै खर्चमा पढाई रहेका छन् ।
भर्खरैमात्र श्रेष्ठले विद्यार्थीको लागि परिचय बनाईदिदैं हस्तान्तरण गरे । खेल समाग्री पनि सहयोग गरे । अब आफ्नै लगानीमा एक जना शिक्षक पनि व्यवस्था गर्दैछु,श्रेष्ठले भने ।
श्रेष्ठ आफुले सहयोग गरेको स्कुलमा पठनपाठन पनि राम्रो होस भनेर शिक्षक र विद्यार्थीलाई सुझाव दिए । भौतिक विकास मात्र भयो र पढाई खस्कियो भने त्यसको के अर्थ, जसको लागि अभिभावक र शिक्षक जोडतोडले लाग्नुपर्छ ।
श्रेष्ठ सामुदायिक विद्यालयको पढाई खस्किएको समाचार आईरहँदा आफ्नो वडाका भाई बहिनीको राम्रो नतिजा देख्दा दंग छन् । प्रभातमा पढाई राम्रै भएको कारण भाईबहिनीहरुले राम्रो नतिजा ल्याएका रैछन,खुशी लाग्यो,श्रेष्ठले भने।
श्रेष्ठले आफ्ले सानोमा पढ्न नपाएको समस्या सम्झदै भन्नुहुन्छ,भाईबहिनीहरु राम्रोसँग पढेलेखे भने म अझै धेरै सहयोग गर्नेछु ।
उनले राजघाट निमावि उर्लाबारी—९ मा पनि गेट निर्माण गरिदिएका छन् । विद्यालयमा घेराबारा भयो, तर प्रवेशद्धार नहुँदा ह्वाङ्गै,प्रअ गोपाल श्रेष्ठले भन्नुभयो, स्वागत गेट निर्माण गरिदिएर विद्यालयको ठुलो सुरक्षा भएको छ ।
अन्य निकायबाट आश्वसन मात्र पायौं,सुन्दर सरले एकैबचनमा कामगरिदिए ।
सुन्दर श्रेष्ठ विद्यालयमा सहयोग मात्र गर्नुुहुन्न । काठमाडौंबाट घर आएका बेला विद्यालयमा गएर विद्यालयका समस्याहरु बुझ्नुहुन्छ । विद्यार्थीलाई पढाई कस्तो छ , सर मिसले कस्तो पढाउनुहुन्छ भनेर सोधुपुछ गर्छन् । शैक्षिक अवस्था सुर्धान अनुरोध गर्छन् । अभिभावकहरुसँग अन्तरक्रिया गर्छन् ।
श्रेष्ठको सहयोगमा सार्वजनिक मावि आम्बारीमा पनि पक्की स्टेज बन्दैछ ।
विद्यालयले श्रेष्ठले समस्या राखेपछि श्रेष्ठले आफ्नो सहयोगी मन फराकिलो बनाएको छ । गाउँमा सडकबत्ति जडान लगायतमा विविध क्षेत्रमा सहयोग गर्दै आएका श्रेष्ठ सहयोगको सहि सदुपयोग भए आफुलाई पनि खुशी लाग्ने बताए । विकासको काम जो जस्ले गरेपनि सबैले साथ सहयोग गर्नुपर्ने श्रेष्ठले बताए । विकासको नाममा गरिने राजनिती श्रेष्ठलाई पटक्कै मन पर्दैन् ।
सुन्दरको यात्रा
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिएका थियो ।
खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहएका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चिए । सुरुमा काठमाण्डौ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन् । सुन्दर भन्नुहुन्छ,म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु ।
सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाईमध्ये कान्छा उहाँ पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए ।
उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपिडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए ।
ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ ।उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन ।