भद्रपुर/ भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउदै गरेको ४२ बोरा सूर्ती प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट घेराबारी र नेपाल प्रहरी चौकी कुटीबाट गएको संयुक्त टोलीले झापाको बारदर्शी गाउँपालिका–१ खैरबारीबाट उक्त परिमाणमा सूर्ती बरामद गरेको सशस्त्र प्रहरी बल गण–२ झापाले जनाएको छ ।
सशस्त्र प्रहरीका इन्सपेक्टर टिकाराम खतिवडाको नेतृत्वमा गएको संयुक्त टोलीले सोमबार विहान ४ बजे सूर्ती बरामद गरिएको सशस्त्रका डिएसपी तथा प्रवक्ता ओजिस ओलीले बताए । बेवारिसे अवस्थामा फेला पारिएको सूर्तीको १ लाख १ हजार ८ सय मूल्य बराबरको ९ सय ६६ किलो रहेको डिएसपी ओलीले जानकारी दिए ।
बरामद सूर्ती भद्रपुर भन्सार कार्यालय बुझाइएको उनले जानकारी दिए । त्यसैगरी प्रहरीले भद्रपुर–५ गणेश मन्दिर छेउबाट २ पोकामा रहेको अनुमानित ८० हजार मूल्य बराबरको कपडा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सादा पोसाकमा गएको संयुक्त प्रहरी टोलीले बेवारिसे अवस्थामा सोमबार विहान फेला पारेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।