विराटनगर/ मोरङको कटहरी गाउँपालिका–४ का एक युवाले कृषिमा क्रान्ति गरेका छन् । खाडी मुलुक मलेसियाबाट फर्केर आएका कटहरीका कोपिन्द्र सिंहले व्यवसायिक तरकारी खेती गरेर नाम र दाममात्र कमाएनन् एक सफल कृषकका रूपमा स्थापित भएका छन् । कृषि क्रान्ति गरेर सबैको लोकप्रिय भएका सिंहले २ कट्ठाबाट शुरु गरेको तरकारी खेती अहिले ४ बिघामा तरकारी खेती गरिरहेका छन् । तरकारीबाट वार्षिक ६० लाख आम्दानी हुने गरेको उनले बताए ।

‘२०६८ मा गाउँका २५ जना युवालाई सहभागी गराएर त्रिशक्ति कृषक समूह गठन गरी जिल्ला कृषि विकास कार्यालय मोरङमा दर्ता गरायौं,’ उनले भने, ‘शुरुमा सबै जनाले २–२ कट्ठामा बन्दा र काउलीको खेती गर्यौं ।’ सिंहले जिल्ला कृषि विकासले ६५ हजारको साना सिंचाइ योजनासमेत दिएपछि समूह नै उत्साहित भएर थप जग्गामा तरकारी खेती गरेको सुनाए ।

सिंहले यस वर्ष बर्खे तरकारीमा घिरौंला १५ कट्ठामा, भण्टा ५ कट्ठामा, करेला ७ कट्ठामा, भिण्डी ६ र बोरी ६ कट्ठामा लगाएर ३ लाख ५० हजार आम्दानी गरेको उनले सुनाए । उनका अनुसार अब टमाटर एक बिघा, बन्दा डेढ बिघा, काउली १५ कट्ठामा, भण्टा १० कट्ठामा र खुर्सानी ५ कट्ठामा हिउँदे तरकारी खेती लगाउने तयारी गरेको बताए । उनले हिउँदे तरकारी खेतीका लागि बेर्ना राखिसकेको जानकारी दिए ।

कर्मठ युवा कोपिन्द्रले आफुसँगै १ सय ९० जना किसानलाई तरकारी खेती गर्न प्रोत्साहित गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी ब्लकमा १ सय ९० जना किसानलाई उनले सङ्गठित गरेका छन् । ब्लकमा परियोजनाले ४६ लाख सहयोग ग¥यो । उक्त बजेटबाट ट्याक्टर, दुई वटा पावर टिलर र तरकारी बेच्न पिकअप भ्यान खरिद गरेको उनले सुनाए ।

उनले तरकारी खेतीसँगै किसान कृषि फर्म स्थापना गरेर अहिले कटहरी–६ का रामसागर मण्डलको १० बिघा जग्गा वार्षिक ३० मन धानमा भाडामा लिएर धान गहुँको बीउ उत्पादनको काम पनि थालेको बताए । उनले बीउ उत्पादनका लागि थप १४ बिघा जग्गा भाडा लिन छलफल भइरहेको सुनाए । ‘तरकारी खेतीबाटै मैले नाम र दाम कमाएकाले यसलाई थप व्यवस्थित गरेर अघि बढ्ने योजना छ,’ उनले भने, ‘अब बाह्रै महिना तरकारी खेती गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।’

सिंहले तरकारी खेतीका लागि गुणस्तरीय बीउ नपाउनु र भारतीय तरकारी बजारमा बिना रोकटोक आउनु किसानका लागि मुख्य चुनौती रहेको बताए । यसका साथै कृषि मजदुरको पनि समस्या उस्तै रहेको उनको भनाइ छ । उनले सरकारले आफ्नै मुलुकमा पर्याप्त तरकारी उत्पादन भइरहेको बेला भारतीय तरकारी आयातमा रोक लगाउन माग गरे ।  सिंहले तरकारी खेतीबाट किसानभन्दा बिचौलीयाले बढी फाइदा कमाइरहेको गुनासो पोखे । बजारमा किसानको सिधा पहुँचको व्यवस्था मिलाउन सरकारसँग माग गरे ।

उनीहरू जस्तै गाउँका किसान अहिले तरकारी खेतीमा रमाइरहेका छन् । कोपिन्द्र तरकारी खेती गरेर जिल्ला र क्षेत्रीयस्तरीय राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । यस वर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट प्रदेश १ को उत्कृष्ट कृषक सम्मान प्राप्त गर्न सफल भए ।

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा बीबीएस प्रथम वर्षमा पढ्दै गरेको अवस्थामा मधेसमा जनतान्त्रिकको बिगबिगी शुरु भएपछि असुरक्षित महसुस गरेर उनी वैदेशिक रोजगारका लागि मलेसिया पलायन भएको बताउँछन् । ‘मलेसियामा तीन वर्ष काम गरेपछि राम्रो आम्दानी गर्न सकिनँ,’ उनले भने, ‘मलेसियामा मासिक ११ हजारमात्रै आम्दानी भएपछि गाउँमै व्यवसायिक तरिकाले खेती गर्ने लक्ष्यका साथ ०६७ बैशाखमा फर्केर आएँ ।’

मलेसियाबाट फर्केर आएपछि एक वर्ष व्यवसायिक तरकारी खेती कसरी गर्ने बारे अध्ययन गरेपछि यो व्यवसाय शुरु गरेको उनले बताए ।