उदयपुर/ उदयपुरमा सडकको पहुँच पुगेसँगै पुराना बाटो–घाटोका चौतारा, पाटी–पौवा र पँधेराहरू लोप हुँदै गएका छन् ।

पुरानो परम्पराअनुसार थाकेका बटुवालाई थकान मेटाउन बाटोमा बनाइने चौतारा, पाटी, पौवा र धाराहरू लोप हुँदै गएका हुन् । समाज नयाँ प्रविधिसँग आधुनिक विकासतर्फ आकर्षित भएकाले मौलिक तथा पुराना वस्तुहरू लोप हुँदै गएका उदाहरण प्रसस्तै पाइन्छन् । बाटोमा बटुवाको थकान मेटाउन बनाइने चौतारा, पाटी, पौवा र प्यास मेटाउने ढुङ्गे धार, कुवाजस्ता सार्वजनिक सम्पत्तिको संरक्षण नभई विनाश हुँदै गइरहेको छ ।

विकासको कार्यले गर्दा संस्कार नै धरापमा परेको र थाकेका बटुवालाई थकाइ मेटाउनलाई चौतारा, पाटी बनाउने चलन लोप हुँदै गएको स्थानीय लोकबहादुर राईले बताए ।

नयाँ पिँढीले चासो नदेखाएपछि सडक विस्तारले पाटी पौवा विनाश हुँदै गएको छ । अधिकांश मङ्गोल समुदायले मृतकको आत्मा शान्तिका लागि बनाउने चौतारा, पाटी पौवा अहिले देख्न नपाइने उनी बताउँछन् ।

आधुनिक युगमा विकास पूर्वाधारले पहिला हिँड्ने मूलबाटोहरू मुसा हिँड्ने गोरेटोमा परिणत गरेको छ । चौतार, पाटी–पौवा र मौलिक संस्कारसँग जोडिएका सम्पदामा नवपिँढीले चासो दिएर संरक्षण गर्नु पर्ने ७६ वर्षीय नन्दबहादुर राई बताउँछन् । राईका अनुसार पहिले मूलबाटोमा बनाइने चौतारा, पाटी, पौवा र पानीको धारा, कुवा प्रसस्त हुन्थे ।

पैदल यात्रा गर्दा बाटोमा उति नै पाइने चौतार र पधेँरा आजभोलि एक–दुई वटा पनि नपाइने र भएको पनि लोप हुँदै गएको उनको भनाइ छ । बटुवालाई सेवा सुविधाको लागि चौतारा, पाटी निर्माणसँगै कतिपय हिन्दू धर्मावलम्बीले वर–पीपल रोप्नेसम्म गर्थे । तर, नवयुवाहरूले भएको चौतारा, पाटी र वर–पीपलको संरक्षण गर्नु पर्नेमा सखाप पार्ने काम गरेको राईले गुनासो गरे । संरक्षण र सम्बद्र्धन गर्नु पर्ने सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने पीपल आजभोलि लोप हुँदै गएको छ ।

गर्मीयाममा बटुवालाई सियाल खाने पीपल आजभोलि औषधिको रूपमा पुगिसकेको छ । संस्कार र पुराना सम्पदाको संरक्षण सम्बद्र्धन गर्न जरुरी रहेको पाकाहरू बताउँछन् ।