वराहक्षेत्र/ उनीहरू बिहानै स्थानीय विद्यालयको खेल मैदानमा जम्मा हुन्छन् । सबैले जुत्ता मोजा कस्छन् अनि शुरु गर्छन् अभ्यास । तीन घण्टा मिहिनेत गरिसके पछि आ–आफ्नो घर फर्कछन् । घरबाट तयार भएर विद्यालय जान्छन् । फेरि भोलिपल्ट बिहानीमा उही अभ्यासमा तल्लीन हुन्छन् ।
स्थानीय आदर्श माविको खेल मैदानमा जाने जो कोहीले उनीहरूको दैनिकीलाई नियाल्न सक्छन् । उनीहरू हुन् भर्खरका किशोरी अन्तर्राष्ट्रिय महिला फुटबल खेलाडी पवित्रा राई, मुना मगर र मनिषा विष्ट ।
उनीहरूलाई स्थानीय प्रशिक्षक सूर्य तुम्बाहाम्फेले बिहान ६ बजेदेखि ९ बजेसम्म अभ्यास गराउ“छन् । ‘म उनीहरूलाई ‘टिम स्पिरिट’ का बारेमा भन्छु, कसरी खेल्ने, एक अर्कामा सामूहिक भावनाले खेल्दा हुने फाइदा र व्यवसायिक खेलमा अपनाइने टेक्निकहरूका बारेमा जानेको ज्ञान दिन्छु ।
फुटबलको प्राविधिक पक्षदेखि अन्तर्राष्ट्रिय फुटबलको क्षेत्रमा अपडेट गराउँछु ।’ माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबका अध्यक्षसमेत रहेका तुम्बाहाम्फे भन्छन् ।
समूहमा १० देखि १७ वर्ष सम्मका २४ जना खेलाडी छन् । उनीहरू प्रत्येक दिन नियमित बिहान र शनिबार प्रशिक्षण लिन्छन् । सार्वजनिक विदामा समेत अनिवार्य जस्तै आउ“छन् । उनीहरूको फुटबलप्रति लगनशीलता र धैर्यता गजबको छ ।
बिहानदेखि तालिम गर्नु, तालिम सकिनेबित्तिकै विद्यालय आउनुको हतारो तर पनि उनीहरू आफूले प्राप्त गरेको सीप र दक्षताप्रति खुशी छन् । खेलप्रति गहिरो लगाव र प्रशिक्षक सूर्यको मिहिनेतले गर्दा, केही अभावका बीच पनि वराहक्षेत्रले तीन जना अन्तर्राष्ट्रिय खेलाडी पाएको छ ।
उनीहरू उमेरले भर्खरका छन् तर अन्तर्राष्ट्रिय महिला फुटबल त खेलेकै छन्, राष्ट्रिय स्तरका व्यवसायिक खेलाडी पनि हुन् । वराहक्षेत्र–२ रेललाइनकी १६ वर्षीया पवित्रा राईले २०१६ मा ताजकिस्तानमा भएको एएफसी अन्डर १५ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै खेलिन् । उनलाई पछ्याउ“दै अर्की वडा नम्बर २ कै सिंहदेवीस्थान घर भएकी १५ वर्षीया मुना मगरले अघिल्लो साल बङ्गलादेशमा भएको १५ वर्ष उमेर साफ फुटबलमा सहभागी भइन् । कान्छी खेलाडी पुनरबासकी मनिषा थापा क्षेत्रीले पनि यही साल भुटानमा भएको साफ फुटबल प्रतियोगिता खेलेकी छन् ।
भिन्न पारिवारिक पृष्ठभूमिबाट आएका उनीहरू फुटबल खेलबाहेक पनि मिल्ने साथी हुन् । जहाँ गए पनि एकसाथ जान्छन्, भर्खरै उनीहरू एकसाथ सम्मानित समेत भएका छन् । कडा तालिम उनीहरूमा खेलसँगै सामाजिक व्यवहार पनि विनम्र भएको छ ।
छोराछोरीलाई पढाएर डाक्टर, इञ्जिनियरमात्र बनेको देख्ने पुरानो समाज अहिले बदलिएको छ । बढ्दो विश्व आधुनिकताको प्रभाव र बदलिँदो मानसिकताले गर्दा आमाबुवाले आफ्ना सन्तानलाई खेल, गीतसङ्गीतलगायत अन्य क्षेत्रमा समेत करियर बनाउन प्रोत्साहन र साथ सहयोग गर्दै गएको देखिन्छ ।
छोरीले फुटबललाई पेशाको रूपमा अँगालेकोमा पवित्रा मुना र मनिषा तीनै जनाका अभिभावक पनि खुशी छन् । उनीहरूलाई फुटबल खेल्न कुनै रोकटोक छैन । ‘तिमी छोरी मान्छे हो जानु पर्दैन कहिले भनेका छ्रैनन् मुस्कुराउ“दै मनिषा भन्छिन् ।
परिवारबाट उत्साह पाएको बताउँदै पवित्रा भन्छिन्, ‘अरूले के भन्लान् भन्ने डर छैन, ढुक्क भएर तालिम लिन्छौँ, बाहिर गएर फुटबल खेल्छौँ ।’ उनीहरू आफ्नो टिमबाहेक अन्य जिल्लाका फुटबल क्लबस“ग पनि अनुबन्धित भएर खेल्ने गरेको प्रशिक्षक सूर्य तुम्बाहाम्फे बताउँछन् । ‘अरु क्लबबाट खेल्ने यो उनीहरूको अधिकार पनि हो भने, यसले उनीहरू झन् निखारिन्छन् ।’ उनी थप्छन् ।
२०७३ सालमा राष्ट्रिय खेलकुद परिषद् र सुनसरी जिल्ला खेलकुद विकास समितिमा दर्ता भएर वराहक्षेत्र नगरपालिको एकमात्र महिला फुटबल क्लब माउण्ट एभरेष्टले छोटो समय उल्लेख्य प्रगति गर्दै गएको छ ।
वराहक्षेत्रमा पहिलो पटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ भने यही महिनामा दोस्रो संस्करणको महिला फुटबल आयोजना गर्ने योजना रहेको तुम्बाहाम्फे बताउँछन् ।
‘हामीसँग खेलाडी पनि राम्रा छन् । एउटा अन्तर्राष्ट्रिय फुटबल चतरामा पनि गराइसकेका छौँ, तर बजेट अपुग हुने हु“दा चाहिए जति खेल क्षमता प्रदर्शन गर्न गाह्रो भएको छ ।’ तुम्बाहाम्फे भन्छन् । सिमित स्रोत साधन भएर पनि गाउँले फुटबल क्लबले ३ जना अन्तर्राष्ट्रिय महिला खेलाडी उत्पादन गर्नु चानचुने कुरो होइन । यसले वराहक्षेत्र नगरपालिकाको नाम समेत उँचो बनाएको छ ।
अहिलेको समाजमा बढ्दो लागूऔषध दुव्यर्सन, एकहोरो मोबाइल प्रवृतिबाट छुटाएर शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ नागरिक उत्पादन गर्न रचानात्मक सहयोग गर्ने खेलको आफ्नै छुट्टै आवश्यकता र महत्व छ ।
यसमा माउण्ट एभरेष्टले खेलेको भूमिका अझै महत्वपूर्ण भएकाले यसका सरोकार वाला निकाय वराहक्षेत्र नपा, जिल्ला खेलकुद र राखेपले विशेष महत्वले आर्थिक सहयोग गर्नुपर्ने आवश्यकता रहेको स्थानीयको मत छ ।