भद्रपुर/दशै पर्व चलिरहेको समयम भद्रपुरका कारोबारीले भने तस्करीलाई निरन्तरता दिइएको पाइएको छ । सबै मानिस दशैंमा व्यस्त हुने आङ्कलन गरेर कारोबारीले भिœयाउँदै गरेको सामान सशस्त्र प्रहरीले बरामद गरेपछि कारोबारीको तस्करी सतहमा आएको छ ।
झापाको पूर्वी दक्षिणी क्षेत्र भद्रपुर–५ मेचीकिनारस्थित मसान घाटबाट अनुमानित दुई लाख मूल्य बराबरको कपडा बरामद गरेको सशस्त्र प्रहरी बल गण हे.क्वा २ ले जनाएको छ ।
भारतबाट भद्रपुरतर्फ एक समूहले भन्सार छलेर ल्याउँदै गरेको कपडा सशस्त्र प्रहरीबाट सादा पोसाकमा खटिएको प्रहरीले शनिबार बेलुका ७ बजे सीमा क्षेत्रको १०२ नम्बर स्तम्भबाट बरामद गरेको सशस्त्रका प्रवक्ता तथा डीएसपी ओजिस ओलीले जनाए ।
प्रहरीलाई देख्नेबित्तिकै कामदार भागेकाले सामानमात्र बरामद गरिएको डीएसपी ओलीले बताए ।
बरामद गरिएको सामानमा ३ सय ३० मिटर पर्दा कपडा, एक सय १० थान कुर्ता सुरुवाल र एक सय ४७ थान भेष्ट गरी १ लाख ५८ हजार २ सय मूल्य बराबरको कपडा बरामद गरिएको ओलीले जनाए ।
त्यसैगरी सशस्त्र प्रहरी केचनाले ३० हजार मूल्य बराबरका ५ थान खसी बरामद गरेको छ । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा शनिबार साँझ बनियानी बगानस्थित १२२ नम्बरको जङ्गे स्तम्भबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ११ वटा काटुनमा रहेको ११ हजार ६ सय ४० मूल्य बराबरको कोल्डड्रिङ्क बरामद गरेको छ । बरामद सबै सामग्रीलाई आवश्यक कारबाहीको लागि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।