पथरीशनिश्चरे/ मुलुक सङ्घीयतामा गइसकेपछि ३ तहका सरकारको व्यवस्थापनमा समय लागिरहेको अवस्थामा मोरङका केही जनप्रतिनिधिले भने नमूना काम गरेर सङ्घीयताको मर्मलाई थप उजागर गरेका छन् ।

आफ्नो वडाबाट नगरमा गुणस्तरीय शिक्षाको अभियान अघि बढाउन वडा नम्बर २ का जनप्रतिनिधि लागि परेका छन् । उनीहरूले व्यक्तिगत खर्च गरेर विद्यालय व्यवस्थापनमा नमूना काम गरेका छन् । कुनै समय ४ सय भन्दा बढी विद्यार्थी अध्यापन गराउँदै आएको सो विद्यालयले समयअनुसारको शैक्षिक पद्घति अपनाउन नसक्दा २२ जना विद्यार्थीमात्र विद्यालयमा थिए ।

विद्यालय जोगाउँदै मुस्किल परेको अवस्थामा वडाका पाँचैजना जनप्रतिनिधि खटिएर घर–घरमा गई विद्यार्थी सङ्कलन गरेको र गुणस्तरीय शिक्षाको प्रवद्र्धनमा जुटेको वडाध्यक्ष यामप्रसाद गुरागाईंले उल्लेख गरे । यसबेला त्यहाँ ४५ जना विद्यार्थी भएका छन् । वडाको पहलमा चौतारी सामुदायिक वन उपभोक्ता समूहको आर्थिक व्यवस्थापनमा सहकार्य गरी एक शिक्षिका राखिएको छ ।

आउँदा दिनमा वडाले नगरको सहकार्यमा थप योजना ल्याई सहयोग गर्ने वडाध्यक्ष गुरागाईंको वचनवद्धता छ । कक्षा १ देखि ५ सम्मका २८ विद्यार्थीका लागि झोला, कापी, कलम, बाल कक्षाका १७ जनालाई झोला, पोशाक, कापी, कलमसमेत जनप्रतिनिधिले आफ्नै खर्चमा प्रदान गरेका छन् ।

बाल कक्षाको व्यवस्थापन, अध्ययन सामग्री, कार्पेट, टेबल खरिद तथा सिटी सफारीमा विद्यार्थी ओसारपसारमा समेत गरी वडाध्यक्ष गुरागाईंका साथै सदस्यहरू अग्नीप्रसाद गुरुङ, अरुणा राई, पर्शुराम न्यौपाने र सीता भुसाल गरी ५ जना जनप्रतिनिधिबाट ६० हजार बढी रुपैयाँ खर्च भएको गुरागाईंले सुनाए । शिक्षकको ४ वटा दरबन्दी छ । दरबन्दी नभएको बाल शिक्षिकालाई नगरपालिकाले र कार्यालय सहयोगीलाई स्थानीयले खर्च व्यहोरेका छन् ।

विद्यार्थीलाई विद्यालय जान प्रोत्साहित गर्ने अभियानका क्रममा वडा सदस्य पर्शुराम न्यौपानेले वडाको सरस्वती आधारभूत विद्यालयमा टेलिभिजन खरिदका लागि आफ्नो १२ वटा बैठकको भत्तावापत्को १० हजार रुपैयाँ प्रदान गरेका छन् ।

शिक्षामा सुधार गर्ने उद्देश्यले स्थानीय नवज्योति बाल क्लबले बाल विकास कक्षा सञ्चालनमा प्रोत्साहन गर्न टेलिभिजन खरिदका लागि २० हजार रुपैयाँ दिने निर्णय गरेपछि वडा सदस्य न्यौपानेले त्यसमा आफ्नो सेवा सुविधाको रकम हस्तान्तरण गरेपछि टेलिभिजन खरिद गरिएको छ ।

०३८ सालमा स्थापना भएको सो विद्यालय पछिल्लो समयमा विद्यार्थीको अभाव र भौतिक व्यवस्थापनको सङ्कट भएपछि जनप्रतिनिधि लागिपरेर विद्यार्थी सङ्ख्या दोब्बरमात्र बनाएनन्, गुणस्तरीय शिक्षाका लागि बाल विकासदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमको पठनपाठन पनि यो वर्षबाट अघि बढाए ।

भौतिक संरचना, शैक्षिक सामग्री र अङ्ग्रेजी शिक्षाको मोहले विद्यार्थी सङ्ख्या घटेको अवस्थामा जनप्रतिनिधिको पहलमा शिक्षकको व्यवस्थापनसहित विद्यालय जोगाउने चासो बढेपछि आफूहरूलाई पनि प्रोत्साहित बनेको शिक्षक नेत्रप्रसाद खतिवडाले सुनाए । विद्यालय बन्द हुने अवस्थामा पुगेपछि नजिकै रहेको बाल शिक्षालाई सोही विद्यालयमा गाभेर विद्यार्थी प्रोत्साहित पार्ने गतिविधि भइरहेको छ । नवज्योति बाल क्लबले बाल गतिविधिमार्फत् विद्यार्थी प्रोत्साहित गरिरहेको छ ।

नमूना काम गर्ने जनप्रतिनिधिमा पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ४ का सदस्य अमरबहादुर बराइली पनि पर्छन् । उनले आफूले पाउने सेवा सुविधाबाट आएको रकम वडामा रहेको सङ्घ–संस्था, विद्यालय र मठ–मन्दिरलाई दिने घोषणा गर्दै आपत्कालीन जनसुरक्षा कोषलाई ७ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

सो चेक कोषाध्यक्ष नन्दबहादुर राईलाई हस्तान्तरण गरिसकेपछि उनले भने ‘मैले जनताको सेवा गर्ने वाचा गर्दै निर्वाचित भएको जनप्रतिनिधिका हैसियतले मैले पाउने सेवा सुविधाबाट अरुलाई केही थप राहत पुग्न सकोस् भनेर योजना बनाएको हुँ ।’ चेक प्राप्त गरेपछि कोषाध्यक्ष राईले पनि जनप्रतिनिधिको कामले जनताप्रति विश्वास र जिम्मेवारी बढ्ने धारणा राखे ।

उदाहरणीय काम गर्ने जनप्रतिनिधिमध्येमा मोरङको उर्लाबारी–३ का वडा सदस्य सोमप्रसाद (राम) तिम्सिना पनि पर्दछन् । उनले नगरपालिकाबाट पाएको एक वर्षको आर्थिक सेवा–सुविधा सोही वडाको दुर्गा माध्यमिक विद्यालयलाई प्रदान गरेका छन् ।

उनले सो विद्यालयमा सीटीईभीटीबाट मान्यताप्राप्त सिभिल सब–ओभरसियर शैक्षिक कार्यक्रम शुरु भएपछि सो कार्यक्रमका लागि नगरबाट आफूले प्राप्त गरेको एक लाख २५ हजार पाँच सय रुपैयाँ सहयोग प्रदान गरी उदाहरणीय काम गरेका हुन् ।

उनले रकम सहयोग गर्नुको कारण प्रष्ट्याउँदै भने ‘प्राविधिक विषयको अध्ययन गर्नेले रोजगारीको अवसर पनि चाँडै पाउने र रोजगारी नभएमा पनि आफैं व्यवसाय सञ्चालन गर्न सक्ने भएकाले मैले सहयोग गरेको हुँ ।’