इटहरी/दशैंमा फलफूलको विशेष महत्व हुन्छ । कोसेली लैजानदेखि पूजाआजा र खानपिनमा फलफूलको प्रयोग हुने गर्दछ । तर दशैंलाई नै लक्षित गरी चोकचोकमा खोलिएको फलफूल पसलेहरू भने यो दशैंमा निराश भएका छन् । अघिल्लो वर्ष जस्तो व्यापार नभएको उनीहरूको गुनासो छ । दशैंमा व्यापार अन्य समयको भन्दा धेरै गुणा बढी हुने गरेको भए पनि यो वर्ष सन्तोषजनक व्यापार नभएको फुटपाथका फलफूल व्यापारी बताउँछन् ।
दशैँको नवमीको दिनसम्म प्रायः सुनसानजस्तो देखिएको इटहरीको सडकमा टिकाको दिनदेखि यता चहलपहल बढेको थियो । टिकाको दिन भिडभाड बढे पनि फलफूल पसलमा भने अघिल्लो वर्षहरूजस्तो दशैं आएन । इलाका प्रहरी कार्यालय इटहरी अगाडि स्याउ बेच्दै आएका प्रदीपसिंह भन्छन्, ‘अघिल्लो वर्ष दिनको १ सय २० काटुन स्याउ बिक्री हुन्थ्यो यो वर्ष दिनको १५ काटुन पनि भएको छैन, दशैं आएजस्तै भएन ।’ व्यापार चौपट भएपछि उनले निराशा जनाए । आईसिनेमा अगाडि स्याउ बेच्दै गरेका नागेश्वर शाहलाई पनि दशैं लागेन । यो वर्षको दशैैंमा ब्यापार खस्केको उनी बताउँछन् । अघिल्लो वर्षको टिकाको दिनमा २० हजारको व्यापार गरे पनि अहिले ५ हजार पु¥याउन नसकेको उनले बताए । ‘खै यो दशैं त अचम्मै भयो पसलहरू धेरै खुलेर हुन कि ! यो वर्ष कमाइ भएन ।’ स्याउ व्यापारी शाहले भने ।
आफ्नो आमालाई स्याउ बेच्न सघाउँदै भेटिएकी बर्षा सिंहले पनि दशैंमा सोचेजस्तो व्यापार गरिनन् । घरै पिच्छेजस्तो फलफूल पसल खुलेका कारण व्यापारमा मन्दी हुन थालेको उनी बताउँछिन् । १० वर्षदेखि सडकमै व्यापार गर्दै आएकी गैसारकी मिना सिंहको पनि बिक्री बट्टा राम्रो भएन ।
दशैंमा मुल्य आकाशियो दशैंमा टिका थाप्न जाँदा कोसेलीका रूपमा फलफूल खरिद गर्ने भएकाले यतिखेर पूर्वमा समेत फलफूलको मूल्य आकाशियो । फलफूलका व्यापारीले स्याउलगायतका फलफूलको मूल्य फरक–फरक बिक्री गरेको उपभोक्ताले गुनासो गरेका छन् । दशैंभन्दा अघिको तुलनामा यतिखेर फलफूलमा दुई सय प्रतिशतसम्म मूल्यवृद्धि भएको उपभोक्ताको गुनासो छ । इटहरीका फुटपाथका फलफूल व्यापारीले महङ्गोमा फलफूल बिक्री गरेको स्याउ किन्दै गरेकी इटहरी–६ की उर्मिला चापागाईंले बताइन् । व्यापारीले मनपरी मूल्य लिएको उनको गुनासो थियो ।
सडक अतिक्रमण इटहरीको मुख्य चोकको दाँयाबाँया सडक पेटीमा नियम मिचेर राखिएका पसल हटाइएपनि ठेला र भुइँमा विभिन्न प्रकारका सामान राखेर बिक्री गर्दै गरेको पाइएको छ । केहीले सडकपेटी छाडेरभित्र पसल राखेका छन् भने पर्वको मौका छोपेर मुख्य राजमार्गमै फलफूल, खेलौनालगायतका पसल थापेको पाइयो । ‘कसैलाई टेर्दैनन्, चोकको सडक कब्जा गरी फलफूल बिक्री गरिरहेका छन् । व्यापारीले मानिस हिड्ने पेटीसमेत प्रयोग गरेका छन् ।’ स्थानीयले गुनासो गरे । सडक पेटी र मुख्य राजमार्गमै थापिएका पसलका कारण पेटीमा हिँड्न समस्या भएको गुनासो बढेको छ ।
चाइनिज स्याउको बजार फलफूलको निर्यात सम्भावना भएको नेपालमा विदेशी फलफूलमा परनिर्भरता बढ्दै गएको छ । नेपालले विभिन्न प्रकारका फलफूल २३ भन्दा बढी देशबाट आयात गर्ने गरेको तथ्याङ्कले देखाएको छ । आजकल चीनबाट आउने स्याउले नेपालको बजारमा राम्रै पकड जमाएको छ भने भारतको बेमौसमी सुन्तलाको बजार पनि नेपालमा ठूलै छ । बजारमा चाइनिज स्याउको माग अत्यधिक भएको व्यापारीहरू बताउँछन् । नेपालमा भुइँकटहर, उखु, सुन्तला, मौसम, जुनार, आँप, अम्बा, कागती, लिची, केरा, अनार स्याउलगायतका अन्य विभिन्न थरिका फलफूल खेती गर्न सकिने प्रशस्त सम्भावना र वातावरण भए पनि उत्पादन भने चासो देखाइएको छैन ।