इटहरी/ केही समय अघि इटहरी खण्डमा रोकिएको व्यापारिक मार्ग विस्तारको काम पुनः शुरु हुने भएको छ । रानी–विराटनगर –इटहरी– धरान सडक आयोजनाले केही दिनभित्रै इटहरी बजारक्षेत्रमा पनि ड्रेन निर्माणको काम शुरु गर्ने जनाएको छ । इटहरीको बजार क्षेत्र भत्किने कि नभत्किने भन्ने अन्योल रहँदै आएको थियो ।

तर अब आयोजनाले बजारक्षेत्र पनि भत्काएर काम शुरु गर्ने जनाएको हो । हाल इटहरीको पूर्वी पृतना हेडक्वाटर अगाडिसम्म ड्रेन निर्माणको काम भइरहेको छ ।

तर इटहरीको मुख्य चोकक्षेत्रमा भने सडकको चौडाईमा विवाद आएपछि काम रोकिएको थियो । इटहरीको मुख्य बजारक्षेत्रमा सडकको चौडाई घटाएर १५ मिटरमात्र कायम गर्न माग गर्दै अवरोध गरिएपछि निर्माणको काम रोकिएको थियो । तत्कालै काम शुरु हुने रानी–विराटनगर– इटहरी–धरान सडक आयोजनाका प्रमुख विनोद पौदारले जानकारी दिए ।

चाड मनाउन सहज होस् भनेर दशैँ पछाडि काम शुरु गर्न लागेको उनले बताए । लामो समयसम्म चौडाई विवादका कारण रोकिएको काम केही दिनभित्र शुरु हुन्छ उनले भने । इटहरी उपमहानगरपालिका, इटहरीका व्यवसायीलगायतले सडकको चौडाई घटाउन आग्रह गरेका थिए ।

सडकको चौडाई साढे ८२ मिटरभन्दा पनि विराटनगरको मापदण्डलाई टेकेर ५५ मिटर नै कायम गर्नुपर्ने उनीहरूको माग थियो । तर सडक आयोजनाले भने सरकारले तोकेको साढे ८२ मिटर नै लिने भन्दै अडान लिएको थियो । यही विवादले बजार भत्काउन सकिएको थिएन । तर, अब आयोजनाले काम अगाडि बढाउने भएको हो ।

हाल इटहरीदेखी उत्तर कोशी राजमार्गको आँपगाछी क्षेत्रमा भने निरन्तर काम भइरहेको छ । यो क्षेत्रमा एक्सप्रेस लेनसहित ग्रिन बेल्ट र सर्भिस लेन पनि थप गरी डिजाइन परिमार्जन गरिएको आयोजनाले जनाएको छ । यता, इटहरीदेखि दक्षिण खनार क्षेत्रमा भने केही कमसल सामग्री प्रयोग गरेको पाइएको छ ।

त्यो क्षेत्रमा अनुगमन गरी कमसल सामग्री प्रयोग गर्ने कम्पनीलाई कारबाही गरिने अयोजना प्रमुख पौदारले बताए ।

विशेष गरी इटहरीस्थित खनारदेखि सोनापुरको बीच क्षेत्रमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयले निरन्तर विरोध गर्दै आएका छन् । लामो समयदेखि तरहरा क्षेत्रको काम पनि कछुवाको गतिमा अगाडि बढेको भन्दै सर्वसाधारणले विरोध गर्दै आए पनि योजना कार्यालय भने खेलाँची गर्दै आएको छ ।