उर्लाबारी /लामो समयको पर्खाइपछि मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको मुख्य कार्यालय परिसरमा निर्माण भएको चिल्ड्रेन पार्क दशैंको अवसरपारी सञ्चालनमा ल्याइएको छ ।

जननेता मदनकुमार भण्डारीको योगदानलाई समाजका सबै वर्गसँग परिचय गराउने उद्देश्यअनुसार मदन भण्डारी चिल्ड्रेन पार्क स्थापना गरिएको कार्यकारी निर्देशक विनोद अर्यालले बताएका छन् ।

प्रतिष्ठानको मुख्य कार्यालय रहेको उर्लाबारी–३ स्थित मङ्गलबारेमा एक बिघा क्षेत्रफलमा एक करोडको लागतमा निर्माण भएको हो ।

सो पार्कमा उर्लाबारी, पथरी, दमक, लेटाङ, मिक्लाजुङ, रतुवामाई, गौरादह, सुन्दरहरैंचालगायतका बालबालिकालाई छुट्टीको समयमा स्थानीय क्षेत्रमै मनोरञ्जनसँगै ज्ञानवद्र्धक शिक्षा सिक्न प्रेरणा मिल्ने अपेक्षा प्रतिष्ठानले गरेको बताउदै“ कार्यकारी निर्देशक अर्यालले भ्रमणका लागि प्रतिष्ठान प्रवेश गर्ने सबै उमेर समूहका लागि कार्ययोजना बनाएर कार्य गरिरहेको बताएका छन् ।

उनले बालबालिकाका लागि चिल्ड्रेन पार्क तथा राजनीतिज्ञका लागि मदनभण्डारी सङ्ग्रहालय सञ्चालनमा आइसकेको बताए ।

विद्यार्थीका लागि साइन्स पार्क, युवाका लागि वाटरपार्क, तारामण्डललगायतका योजना सञ्चालनको अन्तिम चरणमा पुगेको छ । दशैँको अवसरमा सञ्चालन गरिएको चिल्ड्रेन पार्कमा बालबालिकाका लागि मनोरञ्जनका लागि चिप्लेटी, पिङ, विधुतीय रेल, फूलबारी, जननेता मदन भण्डारीको पूर्ण कदको शालिक, पानीको फोहोरालगायतका मनोरञ्जनका सामग्री छन् ।

उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले नगरको विकासमा मदन भण्डारी स्मृृति प्रतिष्ठान नेपालले शैक्षिक, प्राविधिक, जीविकोपार्जन एवम् पर्यटन प्रवद्र्धनको क्षेत्रमा गरेको विकासले उर्लाबारीको नाम तथा प्रतिष्ठा उच्च भएको बताए ।

अझ जनमुखी र सर्वसाधारणको पहुँच पुग्ने परियोजना सञ्चालन गर्न उनले सुझाव दिएका छन् ।