धरान / यात्रुबाहक बसको ठक्करबाट सुनसरीको धरान–८ विश्वकर्मा मन्दिर नजिकै बुधबार बिहान एक स्कुटर चालकको ज्यान गएको छ ।

अन टेष्ट रहेको स्कुटर मन्दिर तर्फ प्रवेश गर्ने क्रममा ना ४ ख ८५६४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा इटहरी–६ का १८ वर्षीय प्रताप चौधरी गम्भीर घाइते बनेका थिए । गम्भीर बनेका उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

इटहरीबाट आउँदै गरेको यात्रुबाहक बसले सोही दिशाबाट आउँदै गरेको नम्बर नहालेको स्कुटरलाई ठक्कर दिएको थियो । घटना १०ः४० बजेको हो । चौधरीको उपचारको क्रममा ११ः२० बजे मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरूले पुष्टि गरेका छन् । बस चालक इटहरी–७ का ३५ वर्षीय खगेन्द्र दर्जी र बसलाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।

बसका यात्रु भने सकुशल रहेका छन् । विश्वकर्मा मन्दिरमा पूजा गर्न ल्याउँदै गरेको अवस्थामा ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।