बिर्तामोड / मदिराको जथाभावी कारोबार हुँदा अपराध बढेको निष्कर्षसहित झापालाई आगामी माघ १ गतेदेखि मदिरा नियन्त्रित जिल्ला घोषणा गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालयले झापाको सुरुङगामा आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरु र निराकरणमा सरोकारवालाको भुमिका’ बिषयक अन्तसम्वाद कार्यक्रममा सहभागी स्थानीय तहका पदाधिकारीले माघ १ गतेदेखि मदिरा नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका एसपी भिमप्रसाद ढकालले बिगत तीन महिनादेखि टोल टोलमा प्रहरी परिचालन गरेका कारण अपराध घटेको तथ्यांक प्रस्तुत गरेका थिए । अधिकांस घटना मादक पदार्थ सेवन गरेका कारण हुने गरेको जानकारी दिदै ढकालले प्रहरी सक्रियताका कारण अहिले इतिहासकै उच्च राजश्व संकलन समेत भएको बताए । उनले मापसेका कारण धेरै घटना हुने गरेको भन्दै मदिरा निषेधित गर्न नसकेपनि नियन्त्रित गर्न सकिने धारणा राखेका थिए । ट्राफिक कार्यालय झापाका प्रमुख राजेश राईले प्रविधिको प्रयोगले दुर्घटना घटेको बताउँदै सवारी साधनको अनुपातमा जिल्लामा ट्राफिक प्रहरीको जनशक्ति कम भएको बताए । जिल्ला न्यायधिवक्ता पदम बहादुर कार्कीले अपराध न्युनिकरणमा स्थानीय तहले बजेट बिनियोजन गरेर कार्यक्रम ल्याउनुपर्ने बताए । मादक पदार्थ सेवन, पारिवरिक बेमेल, इन्टरनेटको प्रयोग लगायतका कारण अपराध बढ्ने गरेको पाइएको उनले बताए । कार्यक्रममा सहभागि हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले मदिरा नियन्त्रण गर्न सके ९५ प्रतिशत अपराध नियन्त्रण हुने दावी गरे । उनले भारतको बिहार र पश्चिम बंगालको उदाहरण दिदै मदिरा नियन्त्रण गर्न असम्भव नभएको बताए । माघ १ गतेबाट मदिरा नियन्त्रणसँगै बिद्यमान कानुन कढाइका साथ कार्यान्वयन गर्ने, मदिरा बिक्री केन्द्रको संख्या नियन्त्रण तथा बिक्रि गर्ने समयलाई १० बजेबाट घटाउने, कानुनले तोकेको उमेरका ब्यक्तिलाई मात्र मदिरा बिक्री वितरण गर्ने ब्यवस्था मिलाउने, मदिरा किन्न आउने ब्यक्तिको तीनपुस्ते अभिलेख राख्ने ब्यवस्था मिलाउने, स्थानीय प्रशासन र स्थानीय तहले स्विकृती दिने मेला तथा कन्सर्टमा मदिरा निषेधित हुनेगरी मात्र स्विकृती दिने प्रतिबद्धता जनाएका छन् । यस्तै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गर्न नपाउने, झापा जिल्लाका १५ वटै स्थानीय तहले कम्तीमा एउटा पुनस्थापना केन्द्र निर्माण गर्ने जस्ता साझा प्रतिबद्धतामा हस्ताक्षर भएको छ । कार्यक्रममा सम्बोधन गदै महान्यायधिवक्ता अग्नि खरेलले मदिरा नियन्त्रणका लागि लाग्नुपर्ने बताए । उनले मदिरा उत्पादन गरेर जिविकोपार्जन गरिरहेका नागरिकलाई बैकल्पिक ब्यवस्था गरेर आत्मनिर्भर बनाउन स्थानीय तहले भुमिका खेल्नुपर्ने बताए । कार्यक्रममा झापाका १५ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रदेश प्रहरी कार्यालय प्रमुख केदार रिजाल, जिल्ला प्रहरी कार्यलय झापा, ट्राफिक कार्यालय, सरकारी वकिलको कार्यालयका प्रतिनिधिले सामुहिक हस्ताक्षर गरी कार्यान्वयन गर्ने घोषणा गरेका छन् ।