ताप्लेजुङ/दश वर्षअघि ओलाङ्चुङगोला हुँदै तिब्बत जाने सिमाना टिपतला नाका हिउँले ढाकेर पूरै बन्द हुन्थ्यो । ‘मङ्सिरदेखि नै आवत्–जावत् बन्द हुन्थ्यो’ ओलाङ्चुङगोलाका स्थानीय छेतेन शेर्पा अनुभव सुनाउँछन् ।
तर पछिल्ला वर्षहरूमा हिउँ पर्न छाडेको उनको भनाइ छ । पुस अन्तिमतिर पनि यो नाकामा आउ–जाउ गर्न सकिन्छ । माथिल्ला बस्तीहरू ओलाङ्चुङगोला, घुन्सा, याङ्मालगायतमा हिउँदमा न्यूनत्तम तापक्रम माइनसमा झर्छ । कुवा र धारामा पानी जमेर सिसाजस्तै हुन्छ तर, हिउँ पर्दैन ।
‘चिसो अत्यधिक बढिरहेको हुन्छ, अकाश खुल्ला हुँदा हावा पनि उत्तिकै चल्छ’ गोलाका छेतेन शेर्पा बताउँछन्, ‘तर, अघिल्ला वर्षहरुमा हिउँले ढपक्क ढाक्ने पहाड काला छन् ।’
स्थानीयवासीका अनुसार बाह्रै महिना हिउँले भरिने पहाडहरूमा हिउँ क्रमश घट्दै गएको छ । नाङ्गा डाँडा र फुङ्ग उडेको मैदानमात्र छ । घुन्साका टासी शेर्पा भन्छन्, ‘हिउँ परेन भने खडेरी लाग्छ ।’
हिउँ बिनाको ओलाङ्चुङगोला र घुन्साको अर्थ हुँदैन ।
त्यहाँमात्र होइन, पूर्वकै प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि हिउँ कम पर्ने गरेको छ । तल्लो फेदी हुँदै सुकेटारसम्म झर्ने हिउँ त परै जाओस, पुसमा बाक्लो तुसारो पनि कम पर्ने गरेको माथिल्लो फेदीका स्थानीय इन्द्रनारायण भट्टराईले सुनाए ।
हिउँ नपर्दा स्थानपिच्छे स्थानीयलाई फरकफरक पीडा पनि छ । गोला, घुन्साका स्थानीयलाई बालीनाली बिग्रन्छ कि भन्ने चिन्ता छ भने पाथीभरा क्षेत्रका स्थानीयलाई हिउँ खेल्न आउने आगन्तुक नआउने हुन् कि भन्ने पिरलो छ ।