भद्रपुर/ चाडपर्वको अवसर पारेर यहाँस्थित बृहत्त सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

झापाको दक्षिणी क्षेत्र कचनकवल–६ वनियानी यूवा परिवार क्लबले विभिन्न मनोरञ्जानात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुति रहेको थियो ।

राष्ट्रिय कलाकार शिव परियार, बलाराम राजवंशी, यम बराललगायतको प्रस्तुतिमा दर्शक नाँचेका थिए ।  स्थानीय कलाकार सागर तामाङ, विन्दास राजवंशी, नवीन लिम्बू, कचनकवल विद्या मन्दिरलगायतले आ–आफनो प्रस्तुति दिए ।

क्लबका अध्यक्ष हरि बस्नेत (चट्टान) को सभापतित्व तथा प्रदेश सांसद् वसन्तकुमार वानियाँको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा प्रदेश सांसद् ओमप्रकाश सरावगी, कचनकवल गाउँपालिका अध्यक्ष अन्जरा आलम, ६ नम्बर वडाध्यक्ष कुलबहादुर कार्कीलगायतले शुभकामना दिएका थिए भने कार्यक्रमको सञ्चालन सचिव शिव गुरूङले गरेका थिए ।

अपरान्हबाट शुरू भएको कार्यक्रम साँझ साँढे ६ बजेसम्म चलेको थियो ।

क्लबमा ९४ जना साधारण, ५१ जना आजिवन र ११ जना कार्यसमिति गरी १ सय ६६ जना आबद्ध रहेका छन् । विगत ६ वर्षयताबाट बडा दशैंको अवसर पारेर सांस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।