धरान/ सुरक्षा चुनौती बढेपछि धरानमा लागेको रमाइलो मेला जिल्ला प्रशासनको निर्देशनमा स्थगित भएको छ ।  मङ्गलबार मेला लगाउने पक्ष र विपक्षका युवाहरूबीच झडप भएपछि एक्कासी सुरक्षा चुनौती बढेको हो । सुरक्षा चुनौतीकै कारण प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मेला बन्द गर्न निर्देशन दिएका हुन् । प्रजिअ उप्रेतीले भने, ‘मैले घटनालगत्तै मेला रोक्न प्रहरीलाई निर्देशन दिइसकेको छु ।’ मेलामा झडप भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरी गरी ५० जना सुरक्षाकर्मी खटिएका थिए । त्यस्तै पूर्व क्षेत्रीय प्रहरी दङ्गा नियन्त्रण गणबाट ५० जना र सङ्घीय इकाइ प्रहरी कार्यालयबाट २० जना जनशक्ति खटिएका छन् ।

धरानमा इलाका प्रहरी कार्यालयमातहतमा जम्मा १४१ जना प्रहरी मात्रै छन् । जुन् नियमित गस्ती र नागरिकको शान्तिसुरक्षामा खटिने गरेका छन् । ‘झडप भएपछि जिल्ला प्रहरी र इटहरीबाट ५० जना जनशक्ति थपिएँ,’ इप्रका धरानका डिएसपी सुमन तिम्सिना भन्छन्, ‘सिडिओ सा’पले तत्काल मेला रोक्न निर्देशन नै दिनुभयो ।’ मेला लगाउन स्वीकृति प्रदान गर्नुपूर्व धरान उपमहानगरको कार्यपालिका बोर्डले सुरक्षा निकायसँग समन्वय नै नगरी निर्णय गरेको थियो । धरानको मेलामा सुरक्षा दिन नसक्ने जिल्ला प्रशासनले बताउँदै आएको छ ।

‘समन्वय छदै छैन ।’ प्रजिअ उप्रेतीले भने । यसविषयमा जिल्ला सुरक्षा समन्वय समितिमा पनि कुनै छलफल भएको छैन । मेला लगाउनुपूर्व सुरक्षाको प्रत्याभूति दिन सकिन्छ कि सकिदैन त्यो हिसावले अनुमति प्रदान गर्ने सुनसरी जिल्लाका एसपी राजन अधिकारीले जानकारी दिए । ‘जिल्ला प्रशासनले पनि हचुवाको भरमा सुरक्षा दिने कुरो हुँदैन ।’ एसपी अधिकारीले भने,(‘विगतमा भएका सुरक्षा चुनौतीको आधारमा अनुमति दिइन्छ ।’ मेलाका लागि आम नागरिकको सुरक्षार्थ खटिएका जनशक्तिलई कटौति गरेर मेलाका लागि बेग्लै सुरक्षा दिनुपर्ने उनले बताए । जसले गर्दा अन्यत्र सुरक्षा खतरा बढ्ने उनले बताए । ‘अतिरिक्त जनशक्ति प्रयोग गर्नुपर्ने हुन्छ । त्यसले अन्यत्र सुरक्षा खतरा बढ्छ ।’ एसपी अधिकारीले थपे । हाल मेला प्रहरीको निगरानी साथै तालासमेत लगाइएको छ । मेलामा झडपको स्थिति सिर्जना भएपछि धरान उपमहानगरपालिकाले सुरक्षा निकायसँग बुधबार छलफल गरेको छ ।

 उपमहानगरपालिकाले प्रशासनसँग समन्वय गरेर मेलालाइ  निरन्तरता दिने निर्णय

मेलाको बिषयले मंगलबार धरानमा झडप भएर २ जना घाइते भए पनि  उपमहानगरपालिकाले भने मेला लगाउने निर्णयबाट पछि नहट्ने निर्णय गरेको छ । त्यसमा सतारूढ दल पूर्व एमालेकाे समर्थन रहेकाे छ । मेलाको बिषयमा बुधबार कार्यवाहक प्रमुख मञ्जु भण्डारी, वडाअध्यक्षहरु र एमाले नेताहरुबीच पार्टी कार्यालयमा भएको बैठकले मेला लगाउने निर्णय कार्यान्वयन गर्ने सहमति गरेको बताइएकाे छ ।  मेला आयोजनामा पार्टीका नेता, युवा संघका कार्यकर्तासँगै कांग्रेसका नेता र तरुण दलसम्बद्ध युवाहरुको पनि लाखौं रुपैया लगानी भइसकेको कारण मेला बन्द गर्न नहुने निर्णयमा पार्टी र जनप्रतिनिधिहरु पुगेको हो ।  बैठकले प्रहरी प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी कार्यवाहक प्रमुख मञ्जु भण्डारीलाई दिएको बताइएकाे छ । धरानको मेला सुरक्षा व्यवस्थापन कसरी गर्ने, के गर्ने भन्ने विषयमा जिल्ला सुरक्षा समितिसँग समन्वय गर्ने  भएकाे छ । छलफलमा सशस्त्र प्रहरी बलका देव विष्ट, राष्ट्रि अनुसन्धानका सहायक अनुसन्धान अधिकृत सुरेन्द्र लिम्बू रहेका थिए । यस्तै, मेलाको विरोध गरिरहेका युवाहरुलाई सहमतिमा ल्याउने जिम्मेवारी पनि ताेकिएकाे छ ।  उक्त बैठकले मेला नरोक्ने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले बताएका छन । अाज प्रमुख जिल्ला अधिकारीलाइ भेटि मेलाबारे छलफल गर्ने कार्यक्रम तय भएकाे छ ।