विद्यालय र विश्वविद्यालयको किताबी सोच फराकिलो हुँदै गएको छ । ज्ञानका लागि नयाँ पुस्तामा ‘कोर्स’ भन्दा बाहिर पनि अध्ययन गर्नु पर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । बजारमा अहिले दिनौं नयाँ पुस्तक आउन थालेका छन् । नयाँ पुस्ताका लेखक लेखन शैली र विषयवस्तुका हिसाबले हस्तक्षेपकारी रूपमा अगाडि आएका छन् । अध्ययन परम्पराको विकासमा पौराणिक किताबको योगदान ठूलो छ । यस्ता पौराणिक रामायण, महाभारतजस्ता किताबबाटै अध्ययन परम्परा अघि बढेको पाइन्छ । भलै, सिमितको पहुँच र बुतामा मात्र किन नहोस् । समयसँगै अध्ययनको दायरा फराकिलो बन्दै गइरहेको छ । काठमाडौंमा सिमित चिन्तन त्यहाँभन्दा बाहिर पनि फैलँदो छ । काठमाडौ बाहिर पनि किताबका पाठक बढ्दै गएका छन् । कुनै बेला किताब जीवन धान्न नभएर रहरका लागि लेखिन्थ्यो । लेखकले किताब बाँड्नुको विकल्प थिएन । बिक्री शून्यजस्तै थियो । किताब लेखन व्यवसाय होइन सन्तुष्टिमात्र थियो । नेपालमा औंलामा गन्न सकिने स्थापित लेखक थिए । त्यसमा सम्पन्न या अन्य पेशा व्यवसायमा आबद्ध व्यक्ति हुन्थे । पूर्णकालीन लेखक थिएनन् भन्दा पनि हुन्छ । यसरी नेपाली किताबका पाठक बढ्ने कुरै भएन । भएका सिमित पाठक पनि विदेशी पुस्तक अध्ययन गर्थे । नेपाली लेखनलाई व्यवसायिक हुन लामो समय लाग्यो । पछिल्लो समय नेपाली लेखनमा उम्दा युवा लेखक आएका छन् । जसले नेपाली किताबका पाठक वृद्धि गर्नुमा ठूलो भूमिका निर्वाह गरे । लेखनशैली र किताबको गुणस्तरको कारणले पठनमा आकर्षण बढेको छ । पछिल्लो सयम नेपाली किताबका पाठक बढेको बताउँछन साहित्यकार विवश पोखरेल । नयाँ आएका लेखकले विषयवस्तु र लेखन शैलीको कारण पाठक तान्न सफल भएको उनको ठम्याइ छ । ‘पाठकले खोजेको विषयवस्तु पस्कनसके पाठक बढ्ने रहेछन् ।’ उनले भने, ‘जुन नयाँ युवा लेखकले गरेका छन् ।’ लेखनशैली र विषयवस्तुका हिसाबले उम्दा किताबको बिक्री पनि राम्रो रहेको छ । विज्ञापनले केही असर गरेर पनि गुणस्तरीय किताबमात्र व्यवसायिक रूपमा सफल हुने बताउँछन् बुद्धिजीवि दिनेश श्रेष्ठ । अध्ययन, अनुसन्धान, अन्वेषण र तथ्यमा आधारित भएर लेख्ने क्रम बढेको उनले बताए । यसरी लेखिएका किताब पाठकको मन जित्न सफल हुने श्रेष्ठले बताए । पाठक बढ्नुमा किताबको गुणस्तरमा सुधार हुनु नै मुख्य कारण भएको उनले बताए । व्यवसायिक रूपमा सफल पनि यस्तै किताब हुने गरेको श्रेष्ठले बताए । किताब मेला, प्रचार–प्रसारलगायतको कारणले पनि पठन संस्कृति बढेको उनले बताए । यसपाली मदन पुरस्कार प्राप्त निलम कार्कीको किताब ‘योगमाया’ त्यसैको उदाहरण भएको उनको बुझाइ छ । विराटनगरका पुस्तक व्यवसायीहरू ‘कोर्स’ बाहिरका किताबको व्यापार बढेको बताउँछन् । विराटनगरका किताब व्यवसायी गङ्गाधर मैनाली पाठकहरूको सङ्ख्या बढ्ने क्रममा रहेको बताउँछन् । उनका अनुसार इतिहास, साहित्य, जीवनीलगायतका किताब खोज्ने पाठकको सङख्या बढेको छ । नयाँ–नयाँ लेखकले राम्रा पुस्तक निकालिरहेको उनी बताउँछन् । राम्रा लेखकहरूले वर्षमा एउटा किताब निकालिरहेको उनी बताउँछन् । त्यस्ता लेखकको पर्खेर किताब पढ्ने पाठक पनि रहेको उनी बताउँछन् । विदेशी किताब खोज्ने पाठक पनि आउने गरेको उनले बताए । अहिले सामुदायिक विद्यालय पुस्तकालय सञ्चालनका लागि सरकारले बजेटको व्यवस्था गरेकाले व्यापारमा सहयोग पुगेको व्यवसायी मैनालीले बताए । नयाँ लेखक जसरी नै प्रकाशक पनि बढेर गएका छन् । प्रकाशको बृद्धिले अहिले बजारमा किताब व्यापारमा प्रतिस्पर्धा बढेको छ । प्रतिस्पर्धाको कारण प्रकाशकले पाठकलाई आकर्षित गर्न विज्ञापनलगायत विभिन्न कार्यक्रम गर्ने गरेको किताब व्यवसायी माधव अधिकारीले बताए । किशोर–किशोरीले रुचाउने प्रेममा आधारित साहित्यका किताब बजारमा आएसँगै त्यो उमेर समूहमा पनि किताब किनेर पढ्ने बढेको उनले बताए । यस्ता पुस्तकले उनीहरूलाई पठनमा रुची बढाएको उनको ठम्याइ छ । यसले व्यापारमा पनि सहयोग पुगेको व्यवसायी अधिकारीले बताए । राम्रा लेखक अझै ओझेलमा किताबको प्रकाशन र लेखक बढे पनि राम्रा लेखक अझै ओझेलमा छन् । बजारमा नयाँ किताबको बाढी नै आएको अवस्था छ । किताब छान्न पाठकलाई हम्मेहम्मे पर्ने अवस्था छ । कुन पुस्तक राम्रो भनेर छुट्याउन पाठकलाई सकस छ । प्रकाशकहरूको आक्रामक विज्ञापनले पाठक भ्रममा पर्ने गरेका छन् । प्रकाशकले विषयवस्तुको ख्याल नै नगरी चर्चा कै आधारमा किताब छापिदिने गरेका छन् । केही पुस्तक राम्रा आए पनि कतिपय ‘मिडिया’ मा पहुँच भएकै कारण पनि बढी हल्लाखल्ला हुने गरेको साहित्यकार विवश पोखरेल बताउँछन् । साहित्यका विभिन्न विधाका ८ पुस्तक लेखिसकेका पोखरेल प्रकाशकसँगको पहुँचको आधारमा किताब छापिने गरेको बताउँछन् । पहुँच नभएका राम्रो लेख्ने क्षमता भएका लेखक विभेदमा परेको उनले बताए । प्रकाशकले पहुँचभन्दा लेखकको क्षमता हेरेर किताब प्रकाशन गर्न सुझाए पोखरेलले । राम्रा लेखक र सर्जक मिडिया र प्रकाशकको पहुँचमा नपुग्दा पछिपरेको उनको अनुभव छ । अहिले पनि लेखकले किताब निःशूल्क बाँड्नु पर्ने अवस्था रहुनु दुःखद भएको उनले बताए । थोरैबाहेक अधिकांश लेखकको आर्थिक अवस्था सन्तोषजनक नरहेको पोखरेल बताउँछन् । पाठक बढेको भए पनि सन्तोषजनक नभएको उनको बुझाइ छ । खुसी र ज्ञानका लागि अध्ययन गर्ने बताउने बुद्धिजीवि दिनेश श्रेष्ठले पनि मिडियामा पहुँचको आधारमा बजारमा किताबले स्थान पाउने गरेको सुनाउँछन् । विज्ञापनको कारण भ्रममा परेर किताब किनेका पाठक पछुताउनु पर्ने अवस्था रहेको उनी बताउँछन् । विज्ञापनकै आधारमा कतिपय किताब बिक्री हुने गरेको उनी स्वीकार्छन् । बजारमा लामो समय टिक्न किताब स्तरीय हुनु पर्ने उनको ठम्याइ छ । ‘हल्लै हल्लाको देश’ भन्ने आरोप लागेकै छ । प्रकाशकले हल्लाको भरमा व्यवसाय बढाउन खोज्नु क्षणिक लाभ भए पनि अन्तत्वगत्वा दुष्परिणाम आउने पक्का छ । हल्लाको भरमा पढ्ने पाठक बढाउनुभन्दा निरन्तर र गम्भीर अध्ययन गर्ने पाठक बढाउने तर्फ ध्यान दिनु जरुरी छ ।