दक्षिणी पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकामा खानेपानीको अभावले सिङ्गो बस्ती नै मानवविहीन बनेको समाचार सार्वजनिक भएको छ । नजिककै तमोर बगिरहदा यी गाउँपालिकाका केही गाउँका बासिन्दा काकाकुल बनेर आफ्नो थातथलो नै छाडेर अन्यत्र बसाइँ सर्न बाध्य हुनु विडम्बना हो ।
खानेपानीको समस्याले ५ सय ४५ घर अहिले रित्तो बनेको समाचार सार्वजनिक भएको छ। कुम्मायक गाउपालिकामा तीन सय ३५ र तुम्वेवा गाउपालिकामा दुई सय १० घर रित्तो मानवविहीन छन् । पानीकै कारण जग्गासमेत किनबेच नहुँदा त्यतिकै छाडेर यहाँ बासिन्दा अन्यत्र बसाइ सरेका छन् । पाँचथरका करिव २० हजार जनसंख्यामा चरम खानेपानीको अभाव झेल्दै गरेको तथ्याङ्क बाहिर आएको छ । जलश्रोतको धनी देशमा स्थानीयमा यस्तो काकाकुलको अवस्था आउनु किमार्थ राम्रो मान्न सकिदैन ।
स्थानीय तहमा सरकार बनिसकेको छ । विद्युत खानेपानीलगायतमा करोडौको बजेट सञ्चालन गर्न पाउने अधिकार स्थानीय तहले नै पाएको छ । यस्तो अवस्थामा पनि सिङ्गो बस्तीमै काकाकुलको अवस्था निम्तिदासमेत स्थानीय तहका जनप्रतिनीधिहरु रमिते बनेर बस्नु उचित होइन । साढे ५ सय घर परिवार विस्थापित हुनु भनेको चानचुने कुरा होइन । चुनावका बेला ती घर परिवारबाट १५ सय दुई हजार भोटको असर पार्न सक्छन् ।
जनप्रतिनिधिहरुले यो कोणमा ध्यान पु¥याउन नसक्नु उनीहरुको कमजोरी हो । नागरिकको सामान्य आधारभूत आवश्यकता पनि पूरा गर्न तत्पर नहुने वा चासो नदेखाउने जनप्रतिनिधि आगामी निर्वाचनमा पराजय हुने निश्चित प्रायः छ ।
किसानहरुले बारीमा लगाएको मकै, जुनेलो, कोदो, बदामलगायतका बालीहरु त्यतिकै छाड्नु पर्ने अवस्था मात्र होइन घरसम्पत्ति नै छाडेर अन्यत्र जानुपर्ने अवस्था आउनु दुःखद् कुरा हो । ‘गाउँगाउँमा सिंहदरवार’ भन्ने नारा यी गाउँका लागि ‘दरबार राजधानी तिर र सिंहचाहिँ गाउँमा’ भन्ने अनुभूत गर्ने वातावरण स्थानीय सरकारले सिर्जना गर्नुहुन्न । स्थानीय सरकार, प्रदेश सरकार सबै लागेर ती घर छाड्न बाध्य स्थानीयहरुलाई घर फर्कने वातावरण तयार गर्नु पर्दछ ।
यही गाउँको खानी समस्या सुल्झाउँन २०७२ साल पुषदेखि शुरु भएको तमोर लिफ्ट खानेपानी आयोजनाको काम अझैसम्म पूरा नहुँनु नै यहाँको दुभाग्य हो । आयोजनाको ठेकेदारलाई निगरानी पहिलो सिंहदरवारले गथ्र्यो । टाढाबाट भनेको नसुन्ने समस्या थियो । तर अहिले आँगनमा राज्य हुँदा पनि आयोजनाहरु कछुवाको गतिमा चल्नु सङ्घीय राज्य प्रणालीको उज्यालो पक्ष मान्न सकिदैन् ।
वर्षौदेखि पानी अभावले पिरोलिएका स्थानीयहरुको दैनिकी सहज बनाउन स्थानीय सरकारले चासो देखाउनु पर्दछ । बसाइ सरेर अन्यत्र गएकाहरुलाई पुनः गाउँमा आउने वातावरण बनाउनु पर्दछ । जनतालाई ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने अनुभूत गर्नदिनु हुदैन ।