दमक/ दमक—२ स्थित आम्दा अस्पतालबाट निस्किने फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदूषित बन्न थालेको छ । जसका कारण स्थानीयको स्वास्थ्यमा असर पर्ने गरेको गुनासो बढ्न थालेको छ ।
दमक—२ मा रहेको आम्दा अस्पतालबाट निस्कने सिरिञ्जलगायत प्लास्टिक, कपडा तथा धातुजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा वातावरण प्रदूषण हुने गरेको छ । अस्पतालको फोहोर थुपार्ने, गाड्ने र जलाउने स्थान बस्ती नजिक भएकाले स्थानीयको स्वास्थ्यमा गम्भीर असर पुगेको छ ।
अस्पतालबाट निस्कने कतिपय फोहोरलाई मेसिनले टुक्य्राएर जलाउने भएपनि त्यहाँबाट उत्पन्न हुने दुर्गन्धले आसपासका स्थानीयलाई असर पुग्ने गरेको बताएका छन् । फोहोर जलाउँदा निस्कने दुर्गन्ध र धुँवा स्थानीय सङ्गम टोल, खरखरे आम्दा, एभरेष्ट लाइनका घरभित्रै पुग्ने गरेको स्थानीयले गुनासो गरेका छन् ।
अस्पतालको छेउमै घर भएकी मन्दिरा प्रधानले अस्पतालबाट निस्केको फोहोरको गन्ध घरसम्मै पुग्ने गरेको बताइन् । उक्त दुर्गन्धका कारण पटक–पटक बिरामीसमेत हुने गरेको प्रधानको भनाइ छ । ‘रुघा–मर्गीमात्र होइन यही फोहोरको गन्धका कारण खानासमेत खान मन नलागेर विभिन्न रोगको सिकार बन्नु परेको छ ।’ प्रधानले ब्लाष्टसँगको कुराकानीमा भनिन् ।
अस्पतालजन्य फोहोर खुल्ला ठाउँमा राख्दा वा त्यसबाट निस्कने धुँवा हावाको माध्यमबाट सङ्क्रमण फैलन सक्ने भए पनि अस्पतालले मानव स्वास्थ्यमा चासो देखाएको छैन । फोहोर र प्रदूषण कै कारण पहिले भन्दा धेरै लामखुट्टे, झिंगा लाग्ने गरेकाले स्थानीयमा झाडापखाला लगायतका सङ्क्रमण फैलनेमा चिन्तित छन् ।
फोहोरमैला उचित व्यवस्थापनका लागि नगरपालिका र अस्पताल प्रशासनसँग छलफल गरे पनि कसैले चासो नदिएको स्थानीय मनकुमार थापाको गुनासो छ । अस्पतालबाट निस्केको फोहोरलाई उचित व्यवस्थापन गरिदिनु प¥यो भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेको थापाकोे भनाइ छ ।
स्थानीयका अनुसार अस्पताल प्रशासनले अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्य सँगै पर्यावरणमा समेत प्रतिकूल असर पर्दै गएको छ । चिकित्सकका अनुसार स्वास्थ्य संस्थाहरूबाट निस्कने प्लाष्टिकजन्य फोहोरलाई जलाउँदा हावासँगै डायोक्सिन नामक अति विषालु क्यान्सरजन्य ग्याँस हावामा फैलिने र औषधिका सिसाहरू तथा त्यसमा बाँकी झोल औषधि, औषधिका पाताहरूलाई उचित प्रशोधन बिना माटो या पानीमा मिल्न दिँदा माटोको उर्वराशक्तिमा, जलाशयहरूको पानीको गुणस्तरमा तथा जलचर प्राणीहरूमा एकदमै नकारात्मक प्रभाव पर्छ ।
‘फोहोर व्यवस्थापनमा सहकार्यको खोजी’ अस्पताल प्रशासनले भने अस्पतालबाट निस्किने फोहोरलाई अति जोखिम, कम जोखिम र जोखिममुक्त गरी तीन भागमा वर्गीकरण गरेर जलाउने, गाड्ने वा नष्ट गर्ने गरेको बताएको छ ।
अस्पताल छेऊछाऊ बस्ती बढ्दै गएकाले आगामी दिनमा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकासँग सहकार्य गरेर काम गर्ने तयारी भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नवीन ढकालको भनाइ छ ।
ढकालले आम्दा अस्पताल विभिन्न दातृ संस्था मार्फत् नै सञ्चालन भइरहेकाले फोहोर व्यवस्थापनमा पनि सहकार्य खोजीरहेको बताए ।