भद्रपुर  / भारतसँग सीधा सीमा जोडिएको नेपाली बजारमा मरिच स्टोर गरी राखिने गरिएको पाइएको छ । पछिल्लो समय अन्य क्षेत्रभन्दा झापाको पूर्वीनाकाबाट प्रहरीले मरिच बरामद गर्न थालेपछि यस्तो तथ्य फेला परेको हो ।  भारतमा मरिचको मूल्य महङगो भएका कारण यसको कारोबारसमेत बढेको छ । मरिच तस्करीमा संलग्नले दोब्बर भन्दा बढी नाफा कमाउने भएकाले यसको तस्करी बढेको जानकारहरु बताउँछन् । मेचीनगरको नकलबन्दा, सतिघट्टा, भानुटोललगायतको बाटो हुँदै दिउँसो र साँझ सीमा क्षेत्रमा हुदै मरिच भारतका विभिन्न बजारमा लैजाने गरेको एक कारोबारीले बताएका छन् । चालु आर्थिक वर्षयता हालसम्म प्रहरीले ५० लाख मूल्यभन्दा बढी मरिच बरामद गरेर भन्सार बुझाइसकेको जिल्ला प्रहरी कार्यलय भद्रपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पुनः बुधबार मेचीनगरका विभिन्न स्थानबाट भारततर्फ लैजार्दै गरेको अवस्थामा १ लाख २५ हजार मूल्य बराबरको अढाइ सय किलो मरिचसहित करिव ३ लाख मूल्य भन्दाबढीका अवैध सामान बरामद गरेको जनाएको छ ।