काठमाडौं / नेकपाको ५ प्रदेशका कमिटीमा औषतमा ५५/४५ को अनुपातमा भागबण्डा गर्दै नेकपाका सातै प्रदेश कमिटीलाई पूर्णता दिइने भएको छ । कर्णाली र प्रदेश नम्बर २ मा भने अनुपातमा हेरफेर छ । केन्द्रीय सचिवालयको विहीबार बसेको बैठकले प्रदेश कमिटी र केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाउन सचिवालय सदस्य रामबहादुर थापा बादल र महासचिव बिष्णु पौडेललाई जिम्मा दिएको छ । यता प्रदेश नम्बर २ र कर्णालीमा तत्कालीन एमाले र माओवादीको सदस्य संख्या लगभग बराबर हुने एक नेताले जानकारी दिएका छन् । अन्य प्रदेशमा भने पूर्वएमाले करिब ५५ प्रतिशतभन्दा माथि हुनेछ भने पूर्वमाओवादीबाट ४० देखि ४५ प्रतिशत सदस्य हुने बताइएको छ ।
यसअघि गठित कार्यदलले सिफारिस गरेका नाम र संख्यालाई नवगठित प्रदेश कमिटीका चार सदस्यीय पदाधिकारीले छलफल गरी सचिवालयलाई बुझाएको छ । प्रदेश कमिटीका पदाधिकारीहरुसँगको छलफल र यसअघिका कार्यदलले दिएको रिपोर्टका आधारमा प्रदेश कमिटीका सदस्यहरु टुंगो लगाइने महासचिव पौडेलले जानकारी दिए । नेकपाको १ नम्बर प्रदेश कमिटी २०७ सदस्यीय हुने पार्टी नियमावलीअनुसार नै टुंगो लागिसकेको बताइएको छ । कमिटीमा पूर्वएमाले १२२, पूर्वमाओवादी ८५ सदस्य रहने भएका छन् । कमिटीको इञ्चार्ज भीम आचार्य चयन भइसकेका छन् । सहइञ्चार्जमा सावित्रीकुमार काफ्ले, अध्यक्षमा देवराज घिमिरे र सचिव सुरेश राई (हिमाल) छानिएका छन् ।
त्यस्तै प्रदेश २ मा २१५ सदस्यीय कमिटीलाई पूर्णता दिँदा पूर्वएमाले १०८ र पूर्वमाओवादी १०७ सदस्य रहने सम्भावना छ । प्रदेश इञ्चार्ज सत्यनारायण मण्डल, सहइञ्चार्ज विश्वनाथ साह चयन भइसकेका छन् । अध्यक्षमा प्रभु साह र सचिवमा सुमन प्याकुरेल रहेका छन् । नेकपाको ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी बनेको छ । तर पोलिटब्यूरो भने बनेका छैन् । विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाई पोलिटब्यूरो हुने छ । यस हिसाबले १४७ सदस्यसम्मको पोलिटब्यूरो गठन हुने स्रोतले जनाएको छ । त्यसो हुँदा तत्कालीन एमालेका सबै पोलिटब्यूरो सदस्यहरु समायोजन हुने सम्भावना छ । तत्कालीन माओवादीका केन्द्रीय सचिवालय र स्थायी कमिटीमा रहेका नेताहरु पोलिटब्यूरोमा पर्ने छन् । एक नेताका अनुसार प्रदेश कमिटी अध्यक्ष र सचिवहरुलाई पोलिटब्यूरो सदस्य बनाइने छ ।