वराहक्षेत्र/वराहक्षेत्र नगरपालिकाले एक नम्बर वडाका मठ मन्दिर क्षेत्रमा माछामासु र मदिराजन्य बिक्रीमा कडाइ गरिने भएको छ ।

दोस्रो नगर परिषद्ले मन्दिर आसपासमा माछामासु र मदिरा बिक्रीमा रोक लगाउने निर्णयलाई कडाइका साथ लागू गर्ने भएको हो । यसअघि त्यहाँका व्यापारीलाई नगरको निर्णयबारे जानकारी गराएको थियो ।

तर, व्यापारीले अटेर गर्न थालेपछि नगरले कडाइ गर्ने भएको हो । वडाको पुरातात्विक महत्वको ऐतिहासिक वराहक्षेत्र मन्दिर, चतराधामस्थित औलिया वावा मठको ५ सय मिटर वरपर माछा मासु तथा मदिराजन्य वस्तुको उत्पादन, बिक्री वितरण र ओसार पसारमा निषेध गरिएको थियो ।

तर पनि स्थानीय व्यापारीले अटेर गरिरहे पछि नगरपालिकाले कडाइ गर्ने नगरप्रमुख निलम खनालले बताए ।

गत असार २५ गते बसेको नगरपालिकाको दोस्रो नगरपरिषद्ले वडा १ का मठमन्दिरको ५ सय मिटर वरपर क्षेत्रमा बिक्री वितरणमा रोक लगाएको थियो । नगर प्रमुख खनालले भने, ‘आफु स्वयम् गएर व्यापारीलाई आग्रह गरेको थिएँ ।  तर, कार्यान्वयन नगरिएकाले अब कडाइ हुन्छ ।’

यसविषयमा जिल्ला प्रशासन, चतरा प्रहरी र नरगपालिकाको १ र २ लेसमेत जानकारी गराएको ५ महिना लाग्दासमेत व्यापारीले निर्णयको बर्खिलापमा गएको उनले बताए ।

यता १ नम्बर वडा अध्यक्ष सुरेश श्रेष्ठले मेला अवधिभर मात्रै माछामासु रोक लगाउन सकिने सधैभरीका लागि कुनै हालतमा सहयोग गर्न नसकिने बताए ।

‘सक्नुहुन्छ भने वडा नम्बर १ लाई मात्र होइन नगर भरीका मठमन्दिर क्षेत्रमा माछामासु र मदिरा बिक्रीमा रोक लगाउनुस् भनेर हामीले नगर प्रमुखज्यूलाई भनेका छौं ।’ उनले भने ।

उनले व्यापारीबाट कर लिने तर व्यापार गर्न नदिने भन्ने यो कस्तो नियम हो भन्दै उल्टै व्यापारीको बचाउ गरे । वराहक्षेत्र मन्दिर क्षेत्रमा खुल्ला रूपमा माछा मासु तथा मदिरामा रोक लगाइनु राम्रो कुरा हो ।’ नाम नछाप्ने सर्तमा एक व्यापारीले भने ।

यस विषयमा चतरा प्रहरीसँग प्रतिक्रिया लिन फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । चतरामा कुम्भ मेला लाग्दै आएको छ । हिन्दुहरूको चार क्षेत्रमध्ये वराहक्षेत्र पनि एक मुख्य धाम हो ।