पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे–६ ले वडाका अति विपन्न ऋषिदेव (मुसहर) बस्तीका १६ घरमा सौर्य बत्ती जडान गरिदिएको छ ।
विजुलीको पहुँच पुग्न बाँकी बस्तीका अति विपन्न ऋषिदेव परिवारमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष जयबहादुर तामाङले जनाए ।
यसअघि सो बस्तीमा खाना पकाउने सोलार कुकर वितरण गरेको र आगामी दिनमा आर्थिक अवस्था कमजोर उनीहरूका लागि शिक्षा र स्वास्थ्यका क्षेत्रको कार्यक्रमहरू बनाइने तामाङले बताए ।
यसखाले कार्यक्रमले ऋषिदेव बस्तीमा खुसी छाएको छ ।
वडाले आर्थिक वर्ष २०७५/०७६ योजनाका बारेमा स्थानीयलाई जानकारी गराउने कार्यक्रमको सन्दर्भ पारेर सोलार बत्ती वितरण गरेको हो । आर्थिक वर्ष ०७४÷०७५ मा ३७ वटा विकास निर्माणका योजना सम्पन्न भएको जानकारी गराइयो ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दिलिपकुमार राईले सोलार वितरणका सार्थै वडाले गरेको कार्यको प्रशंसा गर्दै चिसो भूइँमा सुत्न बाध्य मुसहर परिवारमा चाँडै अर्को नयाँ कार्यक्रम ल्याउने बताए ।
नगरको गौरवको योजनाको रूपमा १ खर्ब बराबरको लागतमा सपिङ मल निर्माणको डिपिआर तयार भएको, १० नम्बर वडामा प्रदेशकै गौरवको योजनाका रूपमा जातीय सङ्ग्रहालय निर्माणको कार्यक्रम अघि बढेको उनले जनाए ।
नगरका ३ वटा मुख्य सडकहरू कालोपत्रे गर्ने, जनता तटबन्ध कार्यक्रम अन्तर्गत बक्राहा नदी र नगरको आफ्नै लगानीमा क्रमागत रूपमा डाँसखोला तटबन्ध गरिनेलगायतका योजनाका बारेमा उनले बताए ।