रङ्गेली  / इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतको फलामे बार काटेर गएराती दुई कैदि फरार भएका छन ।  छिमेकी मुलुक भारतसँग सिमा जोडिएको विराटनगर रानी स्थित इलाका प्रहरी कार्यलयबाट विराटनगरका मोहम्मद आरिफ र मोहम्मद सदिम हुसेन भागेका हुन । विराटनगर १७ का मोहम्मद अस्ताक हुसेन हत्याको अनुसन्धानका क्रममा उनीहरु पक्राउ परेका थिए ।  उनीहरुले थुनुवा कक्षको रड काटेर भागेको मोरङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी प्रवक्ता निशान थापाका अनुसार राति १२ बजे पछिको समयमा उनीहरु भागेको बताइएको छ । चारैतिर प्रहरी सेन्ट्री बसेको अवस्थामा थुनुवा भाग्नु गम्भीर भएको भन्दै घट्नाको प्रहरीले छानविन गर्ने भएको छ । दुुबै कैदीलाई आफ्नै साथि विराटनगरका मोहम्मद अस्ताकको अपहरण पछि हत्या गरेको आरोप लागेको थियो । अस्ताकको गत आसोज ७ गते सडकको ह्यूम पाइप भित्र लास फेला परेको थियो । फरार दुबैलाई कर्तव्यज्यान मुद्दको आरोपमा पक्राउ गरि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ । उनीहरु हिरासतको पछाडिपट्टि झ्यालको ६ वटा रड काटेर भागेका हुन् । उक्त समयमा इलाका प्रहरी कार्यालयमा ७ जना प्रहरी ड्युटीमा रहेका थिए । फरार भएका थुनुवाहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । उक्त दिन इलाका प्रहरी कार्यालय रानिका प्रमुख प्रहरी निरिक्ष सन्तोष निरौला भने विदामा बसेका थिए ।

हिरासतबाटै थुनुवा भागेपछि निरौला कार्यालय फर्किएर फरार भएकाको खोजीमा जुटेका छन् । ‘हिरासत सुरक्षाका लागि २४ घण्टा नै हतियार सहित प्रहरी खटाइएको हुन्छ । त्यहीं ठाउँमा ६/६ वटा रड काटेर भेन्टिलेसनबाट थुनुवा भाग्नु भनेको ड्युटीमा रहेका प्रहरीको गम्भीर लापरवाही भएकाे एसपी मनोजकुमार केसीले बताए ।  फलामकाे रड काटेर थुनुवा भागेको घटनामा प्रहरीकै मिलेमतो छ की भन्ने आशंकामा पनि अनुसन्धान गर्ने काम भइरहेको छ । रड काट्दा सम्म थाहा नपाउनुले घटनामा त्यहाँ खटाइएका प्रहरीकै मिलेमतो हुन सक्ने उनकाे भनाइ छ । केसीले ड्युटीका क्रममा लापरवाही गर्ने सात जना प्रहरीमाथि अनुसन्धान सुरु गरिएको बताए । घटना भएका बेला त्यहाँ ड्युटी रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङमा तानिएको छ । अनुसन्धानका लागि ड्युटी कमान्डर प्रहरी सहायक निरीक्षक पशुपति बस्नेत, क्वार्टर गार्ड प्रहरी हवल्दार जीरालाल रौनियार तथा जवानहरु रिंकु मण्डल, अमित तामाङ, सुरेश राजवंशी र जगरनाथ वास्केसमेतलाई जिल्ला तानिएको छ । यस घटनालाई लिएर अन्य प्रहरी पनि अनुसन्धानको दायरामा तानिन सक्ने बताइएको छ ।