धरान/ सम्बन्धित निकायसँग अनुमति नलिई खेलमैदानका लागि नर्सरी कटान गर्ने उर्लाबारी नगरपालिकालाई कारबाही गर्न वन कार्यालयले उदासिनता देखाएको छ ।
नर्सरी कटान गर्नुपर्ने लिखित कारण माग गरेको तीन महिना बढी बितिसक्दा पनि उर्लाबारी नगरपालिकाले प्रत्युत्तर नदिँदासमेत वन कार्यालयले ‘एक्सन’ लिन सकेको छैन ।
स्थानीयबासीले भने वन कार्यालयले कारबाहीमा उदासिनता देखाएको आरोप लगाएका छन् । वन ऐन २०४९ अनुसार स्थानीय तहले रुख कटान गर्न पाउने अधिकार छैन ।
सार्वजनिक रुख कटान गर्दा अनिवार्य रूपमा वन कार्यालयसँग अनुमति लिनुपर्ने हुन्छ । तर उर्लाबारी नगरपालिकाले वनसँग अनुमति नै नलिई चार महिनाअघि खेलमैदानका लागि नर्सरी फँडानी गरेको थियो ।
खेलमैदानका लागि नगरपालिकाले ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । वन कार्यालय मधुमल्लाले उर्लाबारी–१ का वडाध्यक्ष मचिन्द्र कार्कीलाई नर्सरी काट्नु पर्ने कारणबारे दुई पटक पत्राचार गरिसकेको छ । तर, पत्रको जवाफ नआएको कार्यालयका प्रमुख जगदीशलाल देवले जानकारी दिए ।
कारबाहीमा जान नसक्नुको कारणबारे उनले भने, ‘कारबाहीमा उदासिनता देखाएको हैन, कारबाही हुन्छ ।’ उनले प्रत्युत्तर नदिएको विषयमा अब जिल्ला कार्यालयसँग समन्वय गरेर दुई साताभित्र कारबाही प्रक्रिया अगाडि बढाइने दाबी गरे ।
सेक्टर वन कार्यालय उर्लाबारीका प्रमुख तारिणीप्रसाद चौधरीले वन कार्यालयसँग अनुमति नलिई नगरपालिकाले जबर्जस्ती कटान गरेको दाबी गरे ।
तर, कारबाही किन गर्न नसकेको भन्ने प्रश्नमा कारबाही अगाडि बढिरहेको जनाए । ‘अनुमति लिएन, जबर्जस्ती गरेकै हो । वडाध्यक्षलाई कारबाहीका लागि पत्राचार गरिएको छ, कारबाही हुन्छ’–उनले भने ।
वन कार्यालयले सीमा विवादका कारणले कारबाहीमा समस्या भइरहेको दाबी गर्दै आएको छ । तर, वनको क्षेत्राधिकार नर्सरी फँडानीसँग मात्रै सम्बन्धित छ ।
सीमा विवादको समस्याका बारेको जिज्ञासामा देवले भने, ‘त्यो त होइन । तर पनि ‘अब्स्टेगल’ आइरहेको छ ।’ वन कार्यालयले सीमा विवादको विषय जोड्दै कारबाहीमा आलटाल गरेको मिक्लाजुङ नगरपालिकाका प्रमुख देवीप्रसाद आचार्यको भनाइ छ ।
उनले सो क्षेत्र साविक मधुमल्ला गाविसको वडानम्बर ६ मा पर्ने भएकाले त्यो मिक्लाजुङको क्षेत्र रहेको दाबी गरे । ‘साविकको ७, ८ र ९ मात्रै उर्लाबारीमा गाभिएको हो । ६ हैन, त्यो हाम्रै भू–भाग हो’ –उनले भने ।
तर, उर्लाबारीका मेयर खड्ग फागोले भने बूढापाकाको भनाइका आधारमा उक्त भू–भाग उर्लाबारी मातहतमा पर्ने दाबी गरे । उनले नर्सरी फँडानीमा उर्लाबारी नगरपालिकाको कुनै हात नरहेको दाबी पनि गरे ।
तर, वडाध्यक्ष कार्कीले कार्यपालिकाको बैठकबाटै उक्त क्षेत्रमा फुटबल मैदान बनाउने निर्णय भएको दाबी गरे । उनले आफूले वन कार्यालयबाट प्राप्त गरेको पत्र नगरपालिकामा पठाइदिएको बताए ।
उनले नर्सरी कटानका लागि अनुमति नलिएको भने स्वीकार गरे । ‘वनले अधिकार दिएको थिएन । नगरपालिकाले गरेको काम हो । वन कार्यालयलाई लिखित रूपमा भएन होला तर, केही कुरा उहाँहरूसँग भएको छ’ –उनले भने ।
वनलाई कहिलेसम्म जवाफ दिनुहुन्छ भन्ने जिज्ञासामा उनले कार्यपालिकाको निर्णयबाट भएकाले कार्यापालिकाले नै उत्तर दिने बताए ।