दमक/ वरिपरि माकुराको जालोले घेरेको छ । सबै मेसिनमा खिया लागेको छ । लाखौं रुपैयाँ मूल्य पर्ने महँगो अत्याधुनिक एक्स–रे मेसिन विगत नौ वर्षदेखि भण्डार कोठामा कुहिएर थन्किएको अवस्थामा छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रको भण्डारकोठामा एउटा एक्स–रे मेसिन अहिले पनि यस्तै अवस्थामा रहेको छ । यो मेसिन खरिद गरेर एक दिन पनि प्रयोगमा नआई काम नलाग्ने अवस्थामा पुगेको हो ।

गौरीगञ्ज–६ खजुरगाछी निवासी नारायण अग्रवाल यहाँ रहेको एक्से रे मेसिन नचल्दा सामान्य एक्से रे गर्नका लागि पनि दमकसम्म जानु पर्ने बाध्यता रहेको बताउँछन् । ‘मोटरसाइकलबाट लडियो, ठोक्कियो भने हतार–हतार गरेर दमक नै पुग्नु पथ्र्यो’ अग्रवालले ब्लाष्टसँग भने ‘यहाँ एक्से–रे मेसिन थियो तर चालु थिएन ।’

स्थानीयस्तरमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ०६६ साल साउन २५ गते स्वास्थ्य केन्द्रमा ल्याएको मेसिनले कार्यालयमा दाखिल भएपछि एक दिन एक जनाको पनि सेवा दिन सकेको थिएन ।

कार्यालयमा मेसिन त आयो तर दक्ष प्राविधिक रेडियो ग्राफर तत्काल नभएका कारण सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रकी इञ्चार्ज डाक्टर विद्या पोख्रेलले बताइन् ।

प्राविधिक नभएकै कारण मेसिन खरिद भएको दिनदेखि कार्यालयको भण्डार कोठामा थन्क्याएको थियो । हालसम्म पनि त्यो मेसिन यस्तै अवस्थामा रहेको छ ।

मेसिन आयो तर कार्यालयमा एक्स–रे मेसिन चलाउन जान्ने रेडियोग्राफर थिएनन् । त्यसपछि सरकारले प्राविधिकको दरबन्दीसमेत दिएन । प्राविधिकको अभावमा मेसिन चलाउन नसकिएको गौरीगञ्ज गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विकास पौडेलको भनाइ छ ।

यता यो मेसिन चलाउन नसकिएपछि नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत नयाँ मेसिन ल्याइएको छ । मेसिन चलाउन नसकिए पनि यसलाई सुरक्षित तरिकाले खिया नलाग्ने गरी भण्डार गर्न सकिन्थ्यो ।

तर, कार्यालयले भएको मेसिनसमेत व्यवस्थापनमा ध्यान नदिँदा अहिले काम नलाग्ने गरी बिग्रिएकाले थन्क्याएको छ । यस्ता यन्त्र सुरक्षित भण्डार गर्न सक्दा वर्षौपछि पनि प्रयोगमा ल्याउन सकिने थियो ।

यसतर्फ कार्यालय व्यवस्थापनको चरम लापरबाही भएको देखिन्छ । तत्कालीन खजुरगाछी गाविसको दुई लाख रुपैयाँको लगानीमा सर्वसाधारणलाई स्थानीयस्तरबाट सेवा दिने उद्देश्यले मेसिन खरिद गरिएको थियो ।

जनताको करबाट खरिद गरिएका यस्ता सरकारी मातहतमा रहेका सम्पत्तिको सुरक्षामा कसैको पनि ध्यान नहुनुले अहिले पनि सरकारी कार्यालयको दूरदशा उस्तै देखिन्छ ।

यस स्वास्थ्य केन्द्रमा मेसिन नहुँदा साधारण एक्स–रे गर्न दमक तथा अन्य क्षेत्रमा धाउनु पर्ने बाध्यता छ । सरकारी सम्पत्तिको सुरक्षा नहुँदा एकातिर जनताले दुःख पाइरहेका छन् भने अर्कातिर भएका प्रविधिको समेत प्रयोग हुन सकेको छैन ।

सरकारी सम्पत्तिको यो हदसम्म लापरबाही गर्ने सम्बन्धित कार्यालयका जिम्मेवार प्रतिनिधिमाथि कडा कारबाही हुनुपर्ने स्थानीयको माग छ ।