भद्रपुर/मेची भन्सार कार्यालय र व्यापारीको मिलोमतोमा भन्सार प्रज्ञापन– पत्रभन्दा बढी पास भएको सामान सशस्त्र प्रहरीको फन्दामा परेको छ ।
मेची भन्सार कार्यालय काकँडभिट्टामा भन्सार तिरेर दुई वटा पिकअप भ्यानमा लोड गरी ल्याइएको सामानमध्येबाट करिब साढे तीन लाख मूल्य बराबरको खाद्यान्य सशस्त्र प्रहरीले फेला पारेको हो ।
मे१ज २१७९ नम्बरको भ्यानबाट १० कार्टुन स्वीट बिस्कुट, दुई कार्टुन काँचो चिरस, १० कार्टुन चिनी मिठाई बरामद गरेको छ भने मे१ज २८६३ नम्बरको भ्यानमा ३० बोरा नरिवल, ४५ कार्टुन मिश्री, ६ बोरा सोप र १९ कार्टुन काँचो चिरस बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर २ झापाका डीएसपी तथा प्रवक्ता ओजेस ओलीले बताए ।
भन्सार प्रज्ञापनपत्र तिरेको भन्दा बढी भेटिएपछि सामान बरामद गरिएको डिएसपी ओलीको भनाइ छ ।
सशस्त्र प्रहरी बल नेपाल, गण नम्बर २ झापाबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बिर्तामोड–१० स्थित बुट्टाबारीबाट बिहीबार राति उक्त मूल्य बराबरको सामान बरामद गरिएको ओलीले जनाए ।
बरामद सामानलाई शुक्रबार मेची भन्सार कार्यालय काकँडभिट्टामा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले मूल्याङ्कन गरेको भन्दा भन्सारले १ लाख ७ हजार १ सय कम गरेर सामान बुझेको थियो ।
प्रहरीले मूल्याङ्कन गरेर पठाए पनि भन्सारले कुनै न कुनै वहाना पारेर पठाएको मूल्यमा कम मूल्याङ्कन गर्ने भन्सारको परिपाटीले प्रहरीसङ्ठनमा गुनासो बढ्दै गएको छ ।
जति नै कम मूल्याङ्कन गरेर सामान भन्सार पठाए पनि मूल्य कहिल्यै नमिल्ने प्रहरी कर्मचारीले जनाएका छन् । यसले गर्दा प्रहरीको हौसला कम हुने आशङ्का बढ्दै गएको छ ।