रासस/ सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन्को नियमनका लागि जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले जानकारी दिए ।

उनले ढुङ्गा, बालुवा र गिट्टीको जथाभावी उत्खनन् र बिक्री भएकाले नियन्त्रण गर्नका लागि समिति गठन गरिएको बताए ।

समितिको सदस्यमा समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, प्रदेशअन्तर्गत जिल्ला वन, वातावरण तथा भूसंरक्षण अनुगमन समितिले तोकेको कार्यालय प्रमुख, इञ्जिनियर र जिल्ला समन्वय अधिकारी सदस्यसचिव रहने छन् ।

समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन्का सम्बन्धमा स्थानीय तहलाई आवश्यक निर्देशन दिनसक्ने सहसचिव नेपालले बताए ।

उनका अनुसार समितिले ढुङ्गा, बालुवा र गिट्टी उत्खनन् गर्दा वातावरणीय अध्ययन प्रतिवेदनको शर्तको परिपालना गरे–नगरेको, स्वीकृत, विधि प्रक्रिया परिमाणबमोजिम उत्खनन् र सङ्कलन भए–नभएको राजस्व चुहावट र चोरी निकासी भए–नभएको, ढुङ्गा, बालुवा र गिट्टीको मूल्य निर्धारण, क्रसर उद्योगले तोकेको मापदण्ड पूरा गरे–नगरेको जस्ता कार्य स्थानीय तह, उत्खनन् सङ्कलनकर्तालाई गराउनेछ ।

समितिले दिएको निर्देशन पालना नगरे ढुङ्गा, बालुवा र गिट्टी उत्खनन्मा रोक लगाउने अधिकारसमेत दिइएको सहसचिव नेपालले जानकारी दिए ।