हाम्रा सामुदायिक विद्यालय सुधार्ने हो भने आम मानिसले वर्षौंदेखि भनिआएका केही कुरालाई गलत सावित गर्न सक्नुपर्छ । ती कुरा हुन्ः ‘सामुदायिक विद्यालयमा राम्रो पढाइ हुँदैन, राजनीति बढी चल्छ ।
शिक्षकहरू गफ गरेर नै दिन बिताउँछन्, नियमित रूपमा कक्षामा उपस्थित हुँदैनन् र जति तालिम पाएका भए पनि विद्यार्थीलाई राम्रोसित सिकाउँदैनन् ।
उनीहरू संस्थागत विद्यालयमा नै लगानी गर्छन् र आफ्ना छोराछोरीलाई पनि त्यतै भर्ना गर्छन् । सामुदायिक विद्यालय भनेको त गरीब र दलितका छोराछोरीले मात्र पढ्ने ठाउँ हो’ आदि ।
यस्ता कुरालाई गलत सावित गराउने इच्छा, जाँगर र प्रतिबद्धता छैन भने सामुदायिक विद्यालयको अवस्था सुधार गर्ने गफ नगरे पनि हुन्छ । तर हामीले सामुदायिक विद्यालयको अवस्था सुधार गर्नै पर्छ, किनभने त्यहाँ पर्याप्त मात्रामा तालिमप्राप्त योग्य शिक्षकहरू छन् ।
भौतिक संरचना पनि उपयुक्त नै छ र सबभन्दा मुख्य कुरा, त्यसो नगर्ने हो भने मुलुकले दशकौंसम्म खर्च गरेको स्रोतसाधन खेर जान्छ । गरीबले छोराछोरी राम्रोसँग पढाउन सक्दैनन् र अर्को पुस्ता पनि गरीबीको कुचक्रमा फस्छ ।
त्यसैले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सम्पूर्ण सरोकारवालाहरू जुट्नुको विकल्प छैन ।
यहाँ सामुदायिक विद्यालयको सुधारका लागि शिक्षक, विद्यार्थी, अभिभावक, प्रधानाध्यापक विद्यालय व्यवस्थापन समिति, स्थानीय निकाय तथा पदाधिकारी कस्तो हुनुपर्छ ? के गर्दा गुणस्तर बढ्छ ? र कस्तो हुँदा तथा के गर्दा सामुदायिक विद्यालयको सुधार हुन्छ ? भन्ने विषयमा एउटा टिप्पणी प्रस्तुत गरेको छु ।
भनिन्छ, शिक्षक उडे विद्यार्थी दर्गुछन् शिक्षक दौडिए विद्यार्थी हिंड्छन् शिक्षक हिंडे विद्यार्थी लत्रन्छन् शिक्षक लत्रिए विद्यार्थी ओइलाउँछन् शिक्षक जस्ता हुन्छन्, विद्यार्थी त्यस्तै हुन्छन् ।
त्यसैले शिक्षकको निष्ठा नखल्बलियोस् भनेर सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई संस्थागत विद्यालयको शेयर लगानीमा बन्देज गर्नुपर्छ ।
उनीहरूले आफ्ना छोराछोरीलाई पायक पर्ने सामुदायिक विद्यालयमा नै अनिवार्य भर्ना गर्ने नियम हुनुपर्छ । यदि कोही कसैले संस्थागत विद्यालयमा पढाउन लैजान्छ भने बच्चासँगै शिक्षकलाई पनि विद्यालयबाट बिदाइ गर्ने कडा व्यवस्था हुनुपर्दछ ।
शिक्षक स्वयं पनि समाजको उदाहरणीय पात्र बन्न सक्नुपर्छ । प्रविधिलाई पछ्याउन सक्ने हुनुपर्छ । शिक्षकको बढुवा गर्दा उसको कार्यक्षमता, कौशलता, सिकाइ उपलब्धि र प्रविधिको आधारमा गर्ने व्यवस्था हुनुपर्दछ ।
हाम्रा होइन राम्रा, योग्य, दक्ष, सक्षम र बालबालिका–अनुकूल व्यवहार गर्न सक्ने व्यक्ति शिक्षक हुनुपर्छ ।
विद्यार्थीः विद्यालयका प्राण विद्यार्थी नै हुन् । विद्यार्थी अनुशासित, परिश्रमी, लगनशील र नियमित भए भने उनीहरूको भविष्य उज्यालो हुन्छ । तर उनीहरूलाई अनुशासित, परिश्रमी, लगनशील बनाउने कसरी भन्ने प्रश्नको जवाफ भने सजिलो छैन ।
हामीलाई व्यवहारोपयोगी शिक्षा चाहिन्छ । विभिन्न विषयमा धेरै नम्बर ल्याएर मात्र पुग्दैन, त्यसै अनुसारका व्यवहार र सीप पनि जान्नुपर्छ । काम र उद्यमशीलताप्रति आस्था र सम्मान गर्ने, जिज्ञासु र अध्ययनशील विद्यार्थी उत्पादन गर्नु नै आजको प्रमुख आवश्यकता हो ।
अभिभावकः विद्यालयमा विद्यार्थी (छोराछोरी) पठाइदिंदैमा आफ्नो सम्पूर्ण दायित्व पूरा भएको महसूस गर्ने अभिभावक हुनुहुँदैन ।
कम्तीमा पनि विद्यालयमा आफ्ना बच्चाको लागि आवश्यक सामग्री छन्रछैनन् ? आफ्ना छोराछोरीहरू विद्यालय कसरी जान्छन् ? कुन बेला, कसरी घर आउँछन् ? गृहकार्य गर्छन् वा गर्दैनन् ? विद्यालयमा नियमित छन्छैरनन् ? संगत कस्तो छ ? कतिबेला सुत्छन् ? कतिबेला उठ्छन् ? घरमा मिहिनेत गर्छन्, गर्दैनन् ? जस्ता सामान्यः कुराहरूको समेत ख्याल गर्ने अभिभावक हुनुपर्दछ ।
समय समयमा विद्यालय जाने र आफ्ना बच्चाको अवस्था के कस्तो छ भनेर शिक्षकसँग बुझनुपर्दछ । बालबच्चाको अगाडि अभिभावकले कहिल्यै पनि धूम्रपान, मद्यपान, सूर्ती सेवन गर्नुहुँदैन ।
उनीहरूको अगाडि जुवातास पनि खेल्नुहुँदैन र त्यस्ता सामग्रीहरूको ओसारपसारमा समेत बालबालिकालाई प्रयोग नगर्ने–नगराउने अभिभावक हुनुपर्दछ ।
विद्यालय व्यवस्थापन समिति र छनोट प्रक्रिया विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, गाउँ शिक्षा समितिमा रहने सम्पूर्ण पदाधिकारीका छोराछोरी सामुदायिक विद्यालयमा नै पढाउनुपर्छ ।
समितिका पदाधिकारीले बेलाबेलामा विद्यालयमा आएर निरीक्षण अनुगमनका साथै विद्यालयको व्यवस्थापन कार्यमा मद्दत गर्नुपर्छ । समितिको छनोट गर्दा राजनीतिक दृष्टिले नभई योग्य, दक्ष, सक्षम र क्षमतावान व्यक्तिको खोजी गर्ने दृष्टिले हेर्नुपर्दछ ।
प्रअ र प्रअको छनोट एवं व्यवस्थापनः विद्यालय एउटा विमान हो भने त्यसको पाइलट भनेको प्रधानाध्यापक हो । प्रधानाध्यापक निष्पक्ष, निस्वार्थी, निडर र कुशल नेतृत्वदायी क्षमता भएको व्यक्ति हुनुपर्छ ।
पूर्ण जिम्मेवारी सहितको प्रधानाध्यापकलाई कक्षा लिन नपर्ने र प्रशासनिक कार्य तथा शैक्षिक उन्नयनका कार्यमा मात्रै तल्लीन गराउनुपर्दछ ।
स्थानीय निकाय तथा पदाधिकारीः सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय निकाय एवं प्रतिनिधिहरू प्रतिबद्ध हुनुपर्छ ।
शिक्षकहरूलाई सूचनाप्रविधि (क्ष्ऋत्) एवं अन्य बालअनुकूल र व्यवहारोपयोगी तालिम दिनुपर्छ । अभिभावक शिक्षा सञ्चालन गर्नुपर्छ । शैक्षिक रणनीति बनाई कार्यान्वयन गर्नुपर्छ ।
विद्यालयमा अहस्तक्षेपकारी तर सहयोगी र सहजीकरणदायी भूमिका निर्वाह गरी विद्यालय व्यवस्थापन समितिलाई सक्रिय बनाउने रणनीतिक योजना सहित अगाडि बढ्नुपर्दछ ।
विद्यालयको आर्थिक, भौतिक एवं शैक्षिक र अन्य आवश्यक पूर्वाधार विकासका लागि सक्रिय भूमिका निर्वाह गर्ने कर्तव्यनिष्ठ स्थानीय पदाधिकारी हुनुपर्दछ ।
विद्यालय शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालय भवन र कक्षाकोठा पनि एक हो । विद्यालयका भवन, कक्षाकोठा, शौचालय, खानेपानी, फर्निचर लगायतका भौतिक वस्तुहरू बाल तथा अपाङ्ग अनुकूल हुनुपर्दछ ।
इमेल, इन्टरनेट, मल्टिमिडिया प्रोजेक्टर, स्मार्ट बोर्ड, विद्युतीय हाजिरी तथा सिसी क्यामेरा सहितको कक्षाकोठा व्यवस्थापन गर्नुपर्दछ । अबको विद्यालय भनेको प्रमाणपत्र मात्र दिने विद्यालय नभई व्यावहारिक सीप र शिक्षा दिने विद्यालयको रूपमा विकास गरेर लैजानुपर्दछ ।
निष्कर्ष सामुदायिक विद्यालयको सुधार सम्भव छस सुधार गर्न सकिन्छ । त्यसनिम्ति सबै सरोकारवालाले पहिले आफैंबाट परिवर्तन शुरू गर्नुपर्छ । सुधारिएपछि सामुदायिक विद्यालयको महत्व बढ्छ ।
शिक्षकको मान, प्रतिष्ठा र स्वाभिमान उच्च हुन्छ । तत्पश्चात सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभिभावकको लर्को लाग्छ । प्रधानाध्यापक, जनप्रेम माध्यमिक विद्यालय, बाग्लुङ शिक्षक मासिकबाट साभार