पथरी /  मोरङको पथरीशनिश्चरे –१, मा रहेको ‘भुल्के सिमसार’ क्षेत्रमा बोटिङ सुरु भएको छ ।  बोटिङ सुरु गरेदेखि नै पर्यटकीय क्षेत्रमा पर्यटकको घुइचो लाग्न थालेको वन समितिका सचिव मेनुका राईले बताइन् । अहिले सुरुमा दुईवटा बोट संचालनमा ल्याएको छ । अहिले दैनिक अवलोकन गर्न र बोटिङ गर्न ४० देखि ५० जनासम्म आउन थालेको सचिव राईले बताइन् । सिमसारलाई माननिय कानून,न्याय तथा संसदिय मामिला मन्त्रि भानुभक्त ढकालले सोमबार अवलोकन गरेका छन् । उनले सिमसार क्षेत्र विकासको लागी केन्द्रबाट सक्दो सहयोग गर्न पछि नहट्ने बताएका थिए । डुङ्गालाई एक हप्ता अघि पथरीशनिश्चरे–१, का वडाध्यक्ष बाबुराम ऐक्देनले उद्टान गरेका थिए । सिमसार भ्रमण गर्न सहयोग स्वरुप १ जना बराबर २० रुपैया तिर्नुपर्ने हुन्छ । सुन्दर गेट, गेट बाहिर आकर्षक पानीको छिर्का, गेट भित्र बाटोको दुवै पटि सुन्दर बगैचा सहित पोखरीले छुट्टै सुन्दरता दिएको छ । चिल्डेन पार्क, टि–हाउस(रुख माथी घर) र ढुङ्गामा जंगल सफारी जस्ता कार्यक्रमहरु ल्याउने योजना रहेको वनका उपाध्यक्ष हेमभक्त तमुले बताए । शान्ति सामुदायीक वन समितिको लगानीमा आफ्नो १७८.९२ हेक्टर वन क्षेत्र भित्र ३ हेक्टर क्षेत्र भित्र पर्यटकीय क्षेत्रको रुपमा विकास गरेको हो । वरिपरी घुम्ने बाटो, वनभोज खाने टहरा, आधुनिक शौचालयलगाएतको काम सकेका छन् । वनभोज खान आउने र घुम्न आउने पर्यटकलाई पर्याप्त ठाउँ रहेको छ । वनभोज खान र घुमेर मनोरञ्जन लिनको लागी नमुना गन्तव्य बनाउने शान्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष केवी गुरुङ बताए । पर्यटकीय स्थल ‘शान्ति भुल्के सिमसार’ पूर्वपश्चिम राजमार्ग पथरीबजार देखि दुईसय मिटर उत्तरमा रहेको छ । शान्ति समितिले पर्यटक भित्राउन अहिले ८० लाख खर्च गरिसकेको छ । दुईवटा वनभोज खाने ठूला भवन मुख्य आर्कषकको रुपमा पोखरीको विचमा ५० मिटरको गोलाई भएको टापु, टिकट घर,गेट पालेघर,सानो गेट, बोटिङ स्टेन, तिनकोठे शौचालय, ओभरहेड ड्यामलगाएतका पूर्वाधारहरु निमार्ण भइसकेका छन् । २०७२ सालदेखि सुरु गरेको ठूलो पोखरीको पूर्वपटी आधा हेक्टरको सानो पोखरी निर्माण गरिएको छ । त्यस पोखरी वरिपरी कटेज बनाउने योजना रहेको छ । वरिपरी घेराबारा, पाहुना घर, सभाहल, र पोखरी वरीपरि तार जाली लगाउने योजना रहेको छ । त्यसैगरी पोखरीमा विचमा रहेको टापुमा रेस्टुरेण्ट निर्माण गरी बोटिङ्बाट रेस्टुरेण्ट जाने योजना रहेको बताइएको छ । जरुवा पानी नियमित उम्रने पोखरीमा ७ फुट गहिरो बनाएर पानी जमाएर विभिन्न जातका माछाहरु लगाएको छ । नगरपालिकालाई सहयोग माग्ने र नगरको सबैभन्दा ठूलो आयश्रोत बनाउने योजना रहेको निमार्ण समितिले जनाएको छ । पूर्वी मोरङमा अहिले सिमसार संरक्षण र प्रबद्र्धन गरी पर्यटक भित्राउने लहडै चलेको छ । काठ दाउरा मात्र विक्री गरिरहेका सामुदायिक वनहरुले वैकल्पिक आम्दानीको बाटो पहिल्याउँदै सिमसारबाट आम्दानी गर्ने लक्ष लिएका छन् । यस क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले यस्तो कार्यको थालनी गरेको हो । सिमसारको विकास गर्दा दीगो आम्दानीको स्रोत जुट्ने भएकोले यसलाई पूर्णता दिने कार्य भइरहेको र पथरीशनिश्चरे क्षेत्रको गहनाको रुपमा रहेको यस सिमसार क्षेत्र संरक्षण अभावमा पानीको मुल सुकेर सिमसार नै लोप हुने खतरा बढेको भन्दै यसको संरक्षण गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष रहेको अध्यक्ष गुरुङको भनाई छ ।