काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएर चियापान कार्यक्रममा आज उपस्थित हुन सकेनन् । स्वास्थ्यमा आएको समस्याका कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष समेत रहेको उनी पार्टीले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा अनुपस्थित भएका हुन । स्वास्थ्यमा समस्या आएकाले ओली कार्यक्रमा सहभागि हुन नसकेको नेकपा महासचिव विष्णु पौडेलले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
उनका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली बालुवाटारमै आराम गरेर बसेका छन् । विजयादशमी, दीपावली, नेपाल सम्बत् र छठका अवसरमा नेकपाले आज राजधानीको भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको थियो । अपराह्न १२ बजेदेखि ५ बजेसम्म भएको कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु, विभिन्न दलका नेता–कार्यकर्ता, सांसद, कुटनीतिक, कलाकार पत्रकारलगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । चियापानमा सहभागीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतले स्वागत गरेका थिए । सुरुमा प्रधानमन्त्री ओली ३ बजे आउने भनिएको थियो । तर, अन्तिम समयमा आएर सहभागी भएनन् । ‘