उर्लाबारी/ आम नागरिकलाई क्यान्सर रोगका विषयमा सूचना प्रदान गर्न उर्लाबारीमा अरनीको हस्पिटल प्रालिका प्रबन्ध–निर्देशक चिरञ्जीवी चुँडालको अध्यक्षतामा उर्लाबारी क्यान्सर सूचना केन्द्र गठन गरिएको छ ।

सो केन्द्रको उपाध्यक्षमा उर्लाबारी नगरपालिकाका प्रवक्ता तथा वडा नं.– ५ का अध्यक्ष भानुभक्त शर्मा पराजुली, सचिवमा अरनीको हस्पिटल प्रालिका नरमाया बस्नेत, कोषाध्यक्षमा पथरीशनिश्चरे नगरपालिकाका वडाध्यक्ष कपिलमणी ढकाल रहेका छन् ।

यसैगरी सदस्यहरूमा लेटाङ नगरपालिकाका मेयर शङ्कर राई, कानेपोखरी गाउ“पालिकाका वडाध्यक्ष शुशील बुढाथोकी, रतुवामाई नगरपालिकाका वडाध्यक्ष कन्यैयालाल राजवंशी, मिक्लाजुङ गाउ“पालिकाका वडाध्यक्ष बुद्धिलाल निरौला र अरनीको हस्पिटल प्रालिका बालकृष्ण सुब्बा रहेका छन् ।

उर्लाबारीसहित मिक्लाजुङ, लेटाङ, पथरीशनिश्चरे, कानेपोखरी र रतुवामाई नगरका बासीन्दाहरूलाई क्यान्सर रोगको भीआईए परीक्षण तथा आवश्यक जानकारी दिने उद्देश्यले केन्द्रको गठन गरिएको अध्यक्ष चुँडालले बताए ।

केन्द्रको स्थापना पछि योजनाबद्ध क्यान्सर रोगको रोकथाम, स्क्रिनिङ शिविर, स्वास्थ्य प्राविधिकहरूलाई आवश्यकताअनुसार तालिम र अभिमुखीकरण, समुदायलाई सचेतना लगायतका कार्य गर्ने बताइएको छ ।