दमक/सरकारले युवालाई स्वदेशमा नै स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यक्रमअन्तर्गत झापा देशकै उत्कृष्ट भएको छ । जिल्लामा कोषले लगानी  गरेको रकमबाट हालसम्म २ हजार २ सय युवा स्वरोजगार भएका छन् । युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन समिति झापाका संयोजक सन्तोष सापकोटाकाअनुसार जिल्लामा कोषमार्फत् लगानी गरिएको रकम भुक्तानीको अवस्था शतप्रतिशत रहेको छ । यसबाहेक कोषको लगानी र व्यवसायीको सङ्ख्याको आधारमा देशकै उत्कृष्ट भएको हो । कोषबाट लगानी भएको रकमबाट युवाहरूले व्यवसायमा नै लगानी गरेको पाइएको छ । यसबाट हुने आम्दानीबाट नियमित किस्ता तिर्ने गरेकाले यसको प्रतिफल शतप्रतिशत भएको हो । यसरी लगानी गरिएका युवामध्ये समय र नियमित किस्ता तिर्ने असल व्यवसायीलाई ब्याजबापत् तिरेको ६० प्रतिशत रकम प्रोत्साहन स्वरुप फिर्ता दिने गरेको छ । यही कार्यक्रमअन्र्तगत शुक्रबार कोषको केन्द्रीय टोलीले झापाको दमकमा आएर १५ जना युवालाई रकम हस्तान्तरण गरेको थियो । झापामा यस वर्षमात्र व्यवसायीलाई दिने अनुदानबापत् ८० लाख रुपैयाँ वितरण गरिने जनाइएको छ । समयमा नियमित कर्जा तिर्ने असल व्यवसायीलाई ब्याजबापत्को ६० प्रतिशत रकम अनुदान स्वरुप फिर्ता गरेका छन् । दमकको मेची सहकारी संस्थाको हलमा आयोजना गरिएको कार्यक्रममा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दङ्गालले व्यवसायीलाई रकम हस्तान्तरण गरेका छन् । माइपश्चिम क्षेत्रका प्रतिनिधि मुलक रूपमा शुक्रबार १५ जना व्यवसायीलाई रकम हस्तान्तरण गरिएको थियो । बाँकी अन्य व्यवसायीलाई समेत सहकारीमार्फत् रकम फिर्ता पठाइएको छ । कार्यक्रममा डा. दङ्गालले सरकारले देशमा रोजगार नपाएर वैदेशिक रोजगारमा जाने युवालाई रोक्ने उद्देश्यले स्वदेशमा नै आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । यो लक्ष्यमा सबै युवाहरू सहभागी हुन उनले आह्वान गरे । कोषले सहकारी जमानतमा सस्तो ब्याजदरमा युवालाई न्यूनत्तम ३० हजारदेखि बढीमा २ लाखसम्म प्रतिव्यक्ति लगानी गर्ने नीति रहेको छ । कोषले सहकारीलाई ५ प्रतिशत ब्याजदरमा लगानी गर्छ भने सहकारीले १० प्रतिशत ब्याजमा स्थानीय बेरोजगार युवालाई लगानी गर्दै आएको छ । कोषले २०६९ सालदेखि १८ वटा सहकारीमार्फत् लगानी गर्न शुरु गरेको थियो । यी सहकारीमार्फत् जिल्लामा ३३ करोड रुपैयाँ लगानी गरेको थियो । यसबाट तत्काल ८ सय ४४ जना युवा व्यवसायमा लागेर स्वरोजगार भएका थिए । कार्यक्रम शुरु भएदेखि निरन्तर लगानी गर्दै आएको कोषले पछिल्लो समय जिल्लाका ६२ वटा सहकारी संस्थामार्फत् ३३ करोड लगानी गरेको छ । कार्यक्रमअन्र्तगत ऋण लिएर जिल्लामा २२ सय जना युवा व्यवसायमा आवद्ध भएका छन् । कार्यक्रममा कोषबाट ऋण लिएर ब्यवसाय सञ्चालन गरेका युवा व्यवसायी मुकेश सन्तराज, राधा पाठक, लक्ष्मी खतिवडाले व्यवसायीलाई दुई लाखबाट बढाएर ५ लाख बनाउन माग गरेका थिए । कार्यक्रम माईपश्चिम क्षेत्रका कोषको कार्यक्रम सञ्चालन गरेका विभिन्न सहकारीका प्रतिनिधिले सुझाव राखेका थिए । कार्यक्रममा जिल्ला सहकारी सङ्घ झापाकी उपाध्यक्ष गीता कुँवरले समेत कोषको प्रभावकारिताका विषयमा बताएकी थिइन् । कार्यक्रममा कोषका प्रशासन शाखा प्रमुख लोकबहादुर खड्का, अनुगमन अधिकृत बिमला थापालगायतको सहभागिता थियो ।