धनकुटा/ तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाको वडा नं.६ र ७ अन्तर्गत पर्ने सुख्खा ग्रस्त क्षेत्र मार्साङ्गबारी, कात्तिके, कर्कले, खाल्डे, ढोडेनी, भोर्ले, हात्तीखर्क, मन्सारीका स्थानीय किसानले लामो समय देखि लागेको खडेरीको कारण हिउँदेबाली सखाप भएको गुनासो गरेका छन् ।
उनीहरूले सो क्षेत्रमा लगाइने मुख्य वर्षे बालीहरू मकै, हिउँदे बाली मसेम, कात्तिके बोडी, गहत, कालो दाल, हिउँदे मकै, झत्ते जुनेलो सबै खडेरीले खाएर खेर गएको गुनासो गरेका हुन् ।
लामो समयदेखिको खडेरीकै कारण धान, कोदो, मकै, गहत मसेम, नफले पनि यो वर्ष विकासे जुनेलो भने मनग्गे फलेको बताएका छन् । खडेरीले अन्य बाली खाए पनि विकासे जुनेलो खडेरीसँग पनि नटेर्ने, थोरै वर्षा हुँदा पनि मज्जाले फल्ने भएकाले स्थानीय कृषकहरूले व्यावसायिक विकासे जुनेलो खेतीतर्फ जोड दिएको बताएका छन् ।
भदौ अन्तिम र असोज पहिलो साता देखि फिटिक्कै पानी नपरे पनि जुनेलो भने दुःखले फलिरहेको कृषकहरूको भनाइ छ ।
आठराई गाउँपालिका वडा नं.७ कर्कलेका प्रसादसिंह तामाङले अघिल्लो वर्ष २ हलको मेलो लाग्ने करिब ४ रोपनी बारीमा ८ मुरी विकासे जुनेलो फलाएको बताए ।
यस वर्ष पनि अघिल्लो वर्षको तुलनामा खडेरीको कारण ८ मुरी नभए पनि ६ मुरी जति विकासे जुनेलो फल्ने दाबी गरेका छन् । गाउँमा विकासे जुनेलो फलाउन सके १ सय रुपैयाँ पाथी बिक्ने कृषक तामाङले बताए ।
त्यसो त सोही वडाका अर्का कृषक जङ्गबहादुर स्याङ्गवाले आफ्नो १६ रोपनी (करिब ८ हल गोरु लाग्ने बारी) मा यो वर्ष विकासे जुनेलो लगाएको बताए ।
यो वर्ष झण्डै १० मुरी जति जुनेलो फल्ने अनुमान स्याङ्गवाले गरेका छन् । स्याङ्गवाले खडेरी नलागेको भए १२ मुरी भन्दा बढी विकासे जुनेलो फल्ने बताए ।
उनले आफ्नो बारीमा फलेको विकासे जुनेलो लेकमा अलैंची खेती गर्ने किसानहरूले ट्याक्टर ल्याएर १ सय रुपैयाँ पाथी किनेर लाने गरेको बताए ।
आठराई गाउँपालिका वडा नं.६ चुहाण्डाँडा हात्तीखर्कका जितबहादुर वाइवाले खडेरीले सबै बाली खेर गए पनि मुस्किलले विकासे जुनेलो भने फलेको बताए ।
अघिल्लो वर्षका तुलनामा नफले पनि यो वर्ष ५ मुरीको हाराहारीमा विकासे जुनेलो फल्ने बताए । उनले गाउँमा अधिकांशले विकासे जुनेलो छर्ने गरेको बताएका छन् ।
यता वडा नं.७ ककैलेका पदमलाल घिसिङले पनि हिउँदे बालीमध्ये विकासे जुनेलो केही मात्रामा फलेको बताए । घिसिङले उनको २ खयल बारीमा सबै विकासे जुनेलो लगाएका छन् ।
उनीजस्तै गाउँमा घिवा लामा, हर्कबहादुर बल, नाङ्गडुप मोक्तान, देउमान घिसिङ लगायतले पनि यो वर्ष विकासे जुनेलो लगाएको बताए ।
आठराई गाउँपालिकामा पर्ने मार्साङ्गबारी, कात्तिके, कर्कले, खाल्डे, ढोडेनी, भोर्ले, हात्तीखर्क, मन्सारीलगायतका गाउँमा रहेका खोला–खोल्सीमा हिजोआज एक थोपा पानी पाइँदैन ।
औला क्षेत्रमा कोदो नफल्ने हुनाले प्रायःजसो विकासे जुनेलो त्यहाँ बसोबास गर्ने आदिवासी जनजातिहरूले गर्मी याममा छ्याङ्ग बनाएर पिउने गर्छन् । विकासे जुनेलोको भातभन्दा पनि छ्याङ्ग राम्रो र मीठो हुने बताइन्छ ।
छ्याङ विशेष गरेर विवाह, छेवर, न्वारन, पास्नीलगायत भोजभत्तेर र दुःखको कार्जेमा प्रयोग गर्ने आदिवासी जनजाति समुदायको प्रचलन रहिआएको छ ।
हरेक वर्ष खडेरीले गर्दा अन्नबाली उब्जनी हुन छाडेको अवस्थामा स्थानीय सरकारका जनप्रतिनिधिको योजना के ? भन्ने ब्लाष्टको प्रश्नमा आठराई गाउँपालिका प्रमुख विष्णुविक्रम कन्दङ्गवाले आठराई गाउँपालिकाको वडा नं.४ इवा, वडा नं.५ छातेढुङ्गा, वडा नं.६ चुहानडाँडा, वडा नं.७ थोक्लुङ्गलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको बताए ।
कन्दङ्गवाले सोही अनुसारको योजना तथा कार्यक्रम बनाएर अघि बढिरहेको जानकारी दिए ।
उनले सुख्खा खडेरीको कारण ती गाउँपालिकाको तमोर तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूलाई खानेपानीको अभाव हुँदा बसाइँ सराइको क्रमसमेत बढेकाले स्थानीय सरकारलाई ठूलो चुनौती थपिएको बताए ।